राशिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुको पहिलो जित, कर्णाली ४ विकेटले पराजित

राशिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुको पहिलो जित, कर्णाली ४ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

कर्णालीले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्य काठमान्डुले खेल सकिन दुई बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै काठमान्डुले अंक तालिकामा आफ्नो खाता खोलेको छ भने कर्णालीले प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

काठमान्डुको जितमा राशिद खान र करण केसीले महत्वपूर्ण भूमिका निर्वाह गरे । राशिदले ५० रनको अर्धशतकीय पारी खेल्दा करणले ४४ रन जोडेर जितको आधार तयार पारे । त्यस्तै आदिल आलमले २० र डेभिड वार्नरले १६ रन बनाए । जहानदाद खान २२ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका सोमपाल कामी र हुसैन तलतले समान दुई विकेट लिए । नन्दन यादव र मार्क वाटले एक–एक विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।

कर्णालीका लागि अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए । हुसैन तलतले ४० रनको योगदान दिए भने पवन सर्राफ ३० बलमा अविजित रहे । गुलशन झाले ११ बलमा २० तथा मार्क वाटले १७ रन जोडे ।

काठमान्डुका करण केसीले दुई विकेट लिए । शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले समान एक विकेट लिए ।