काठमाण्डु– महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल कुनै निर्णयमा पुग्नुभन्दा सत्तापक्षको औपचारिक धारणा र तयारी पर्खने भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षले महाअभियोगको विषयलाई कसरी अघि बढाउँछ भन्ने स्पष्ट भएपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका छन् ।
सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले महाअभियोगजस्तो गम्भीर विषयमा सत्तापक्षभित्रै अझै स्पष्ट सहमति नबनेको बताएका हुन् ।
उनका अनुसार सत्तापक्षले विषयलाई औपचारिक रूपमा कसरी उठान गर्छ भन्ने प्रतिपक्षले नजिकबाट नियालिरहेको छ । त्यसपछि मात्रै महाअभियोगका विषयमा प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाउने उनले बताए ।
आङ्देम्बेले महाअभियोग संवेदनशील र गम्भीर राजनीतिक विषय भएकाले पार्टीभित्र पर्याप्त छलफल आवश्यक रहेको पनि बताए । पार्टीको आधिकारिक धारणा एउटा हुने तर संसदीय दलले त्यसविपरीत निर्णय गर्ने अवस्था आए त्यसको औचित्य नहुने उनको भनाइ थियो ।
सत्तापक्ष रास्वपाको धारणा र तयारी नै स्पष्ट नभइसकेको अवस्थामा प्रतिपक्षले हतारमा आफ्नो निर्णय सार्वजनिक नगर्ने संकेत गर्दै उनले पहिले सत्तापक्षको कदम हेर्ने र त्यसपछि आवश्यक राजनीतिक निर्णय लिने बताएका छन् ।
‘उहाँहरूले दिएको निर्देशन उहाँहरूको संसदीय दलले मानिरहेको छ कि छैन भन्ने कुरा पनि हामीलाई थाहा छैन, यस्तो गम्भीर र महत्वपूर्ण विषयमा संसद्भित्र रहेका दलका पार्टीहरूले कसरी चासो व्यक्त गर्छन् र त्यो चासोलाई संसद्ले कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उहाँहरू विश्वसनीय धारणासहित प्रस्तुत हुनुहोस् । त्यसपछि हामी प्रतिपक्षी दलहरू बसेर आफ्नो धारणा बनाउँछौं,’ नेता आङ्देम्बेले भने, ‘साझा धारणा बनिसकेपछि राम्रा कामका लागि हामी हिजो पनि साथमा थियौं, आज पनि साथमा छौं ।’


प्रतिक्रिया