काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल छाड्न सरकारसँग माग गरेका छन् ।
बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बोलेबापत प्रसाईंलाई सरकारले थुनेको दाबी गरे ।
‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोल्नै नपाइने पनि हुन्छ ?’ ओलीले भने । स्मरणरहोस्, अध्यक्ष ओली नै प्रधानमन्त्री हुँदा समेत प्रसाईं पटक–पटक पक्राउ पर्दै आएका थिए ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २४ गतेको आन्दोलन भड्काउने काम गरेको दाबीसहित प्रसाईंले भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।
उनले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । शान्ति सुरक्षा र सुशासनको पक्षमा जस्तोसुकै जटिल परिस्थितिको सामना गरेर पनि जनप्रतिनिधिले काम गर्नैपर्ने उनले बताए ।
‘अरूले के गर्छन्, त्यो अलग कुरा भयो तर हामीले स्वच्छ ढंगले काम गर्नुपर्छ, जनतालाई छिटो, छरितो र विना भेदभाव सेवासुविधा दिनुपर्छ,’ उनले भने ।
उनले अहिलेको सरकार हाँहुँकै सरकार भएको दोहोर्याए । विगतमा मुखिया छान्दा पनि गाउँले बसेर छान्ने गरेका बताउँदै उनले अहिले मुखिया मुखिनी कहाँबाट आए भन्ने समेत थाहा नभएको ओलीले बताए ।
‘अहिले केही क्षणलाई मुसाले बिरालो तर्साए जस्तो भएको छ, एमालेलाई ५०–६० जनाले तर्साउन खोज्दै छन्, आगो त निर्बाध छाडिदिएपछि ५०–६० जनाले सिंहदरबार नै जलाए नि !’ उनले भने ।
अहिलेको सरकार कसले बनायो भन्ने थाहा नभएको उनले बताए । यो सरकारको टेक्ने र झुण्डिने ठाउँ नभएको उनले सुनाए । ‘तैपनि जनताले अत्यधिक बहुमतले छाने जस्तो धाकधम्की छ,’ उनले भने ।




प्रतिक्रिया