नेताहरूको आवागमनलाई निषेध गर्ने सिमरा घटना निन्दनीय छ : कमल थापा

नेताहरूको आवागमनलाई निषेध गर्ने सिमरा घटना निन्दनीय छ : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरूको आवागमनलाई निषेध र नियन्त्रण गर्ने सिमरा घटना निन्दनीय भएको बताएका छन् ।

एमाले नेताहरूको आवागमन रोक्न सिमरा विमानस्थलमा अवरोध गरिएको घटनापछि सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले घटना प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत रहेको टिप्पणी गरे ।

उनले लेखेका छन्, ‘राजनीतिक दलका नेताहरूको आवागमनलाई निषेध र नियन्त्रण गर्ने उद्देश्यले सिमरामा आज भएको घटना निन्दनीय छ । प्रजातान्त्रिक मूल्य र मान्यता विपरीत छ, राप्रपा नेपाल घटनाको भर्त्सना गर्दछ ।’

उनले यस्तो विकृति र विसंगतिको जन्मदाता स्वयं एमाले र कांग्रेसहरू नै रहेका पनि आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘२०४६ साल र २०६३ सालको राजनीतिक परिवर्तनपश्चात विपक्षहरूलाई लखेट्ने, निषेध गर्ने, आक्रमण गर्ने कार्य जसरी करीब २ वर्षसम्म देशव्यापी रूपमा उनीहरूले गरेका थिए, अहिले त्यहीँ प्रवृत्ति दोहोरिन थालेको छ । सिमराको घटना त्यसको उदाहरण हो ।’

अहिलेको घटनाबाट चिन्तित र पीडित कांग्रेस कम्युनिष्टले आफ्ना विगतका गलत र अप्रजातान्त्रिक कार्यहरूको समीक्षा र आत्मालोचना गर्नु तथा भविष्यमा यस्ता कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नु समयको माग रहेको उनले बताए ।

‘निषेधको राजनीति निरंकुशताको जननी हो,’ उनले लेखेका छन्, ‘असुरक्षाको वातावरण खडा गरेर र राजनीतिक गतिविधिहरू निषेध गरेर निष्पक्ष एवं स्वतन्त्र चुनाव हुन सक्दैन, आमचुनाव नजिक आउँदै गर्दा सुरक्षाको पूर्ण प्रत्याभूति दिनेतर्फ सरकारको ध्यान जाओस् ।’