काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोर्याउने खतरा हुने भन्दै इतिहासको अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘भदौ २४ गतेपछि नेपालको नयाँ पाना नै सुरु भयो जस्तो गरेर पनि प्रस्तुत गरिने पाइएको छ । त्यस्तो होइन, पुराना–नयाँ खराब सबैलाई छुट्याउन सक्नुपर्छ । अध्ययन र समाज बुझ्ने क्रममा त्यो ज्ञान हामीले ग्रहण गर्न सकेनौ भने अहिलेको जेनजीहरू पनि धेरै राम्रो नेता बन्न सक्दैनन् भन्ने मेरो निष्कर्ष हो । हिजो भर्खरै आएका जेनजीहरूले हामीबाटै इतिहास सुरु भयो भन्ने नसोचे हुन्छ । मैले यसलाई सकारात्मक रूपमा नै भनेको हो । इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोहोर्याउन पुग्छौं ।’
उनले शेरबहादुर देउवा र केपी ओली पनि कुनै समयमा जेनजी नै भएको भन्दै इतिहासलाई पल्टाएर, नजिकबाट अध्ययन गरे मात्र राम्रो नेता भन्न सकिने बताए ।
सरकारमा रही आएका पार्टीहरूले वर्षौं आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरे पनि यो सत्य भएको उनको भनाइ छ । उनले भने, ‘पार्टीहरूले जेनजी आन्दोलनलाई यस्तो पनि आन्दोलन हुन्छ भनेर जुन खिसी गरिरहेका छन्, त्यो उनीहरूले इतिहासमा लामो संघर्ष गरेर मात्र सफलता पाएको हुनाले हो । त्यसकारण उनीहरूले २७ घण्टामा सत्ता ढालेको पनि आन्दोलन हुन्छ भनेर भन्ने गरेका हुन् । तर त्यो भएकै हो । अब आन्दोलन भनेको १० वर्ष जेल बसेपछि गरेको परिवर्तन मात्रै हो भन्ने भाष्यबाट अगाडि आउनुपर्छ ।’




प्रतिक्रिया