काठमाण्डु – ‘जय मातृभूमि पार्टी’ले आधिकारिकता पाएको छ ।
राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरूको राष्ट्रिय सुरक्षा जागरण महाअभियानसहित एकीकरण गरी बनेको ‘जय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेशकुमार कार्कीलाई प्रमाण पत्र हस्तान्तरण गरे । प्रमाणपत्र ग्रहणपछि नेपालवादको सिद्धान्त लिएर नेपालभरका जनतामाझ जाने अध्यक्ष कार्कीले बताए ।
उनले भने, ‘हामी पूर्व सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आबद्ध भएका छौं । देशभर ८ लाखभन्दा बढी छौं । जनताको शक्तिलाई विश्वास गरेर निर्वाचनमा होमिन्छौं । हामीलाई जनतामाथि विश्वास छ ।’
अध्यक्ष कार्की पूर्व मेजर जर्नेल समेत हुन् । उनी ४० वर्ष नेपाली सेनामा कार्यरत रहे । ‘देशकै अवस्था देखेर हामीहरू राजनीतिमा होमिनुपरेको हो । कुशासनले देशै नरहला कि भन्ने अवस्था आइसकेको अवस्थामा मातृभूमि र नागरिकको सुरक्षाको लागि हामी आएका छौं । सचेत नागरिक जागरुक हुन आवश्यक छ,’ उनले भने ।
पार्टीका महासचिव गोविन्द गिरीले विचार मिल्ने शक्तिसँग एलाइन्स गरेर फागुन २१ गते हुने भनिएको निर्वाचनमा जाने सम्भावना बलियो रहेको बताए । उनले भने, ‘हाम्रो पार्टीमा विभिन्न क्षेत्रबाट कुशलतापूर्वक राष्ट्रको सेवा प्रदान गरेका अवकाश प्राप्त योग्य नेताहरू र विभिन्न विषय विज्ञहरू हुनुहुन्छ, उहाँहरूलाई काँध थाप्ने जेनजी साथीहरू पनि हुनुहुन्छ । अवसर पाउँदा मुलुकको नेतृत्व गर्न सक्ने क्षमतामा राख्छौं ।’
दलको दर्ता नम्बर २२१ रहेको छ । जय मातृभूमि पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा रहेको छ ।




प्रतिक्रिया