पुराना दलहरू नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो : मन्त्री घिसिङ

पुराना दलहरू नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो : मन्त्री घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरूले राजनीतिक नेतृत्वमा सफलता हासिल गरे पनि विकासको नेतृत्वमा चुकेको बताएका छन् ।

बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरू विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् ।

उनले भने, ‘हामीले केही हुँदैछ भन्ने आशा जगाउने काम गर्नुपर्नेछ । सुशासनको प्रत्याभूति पनि दिनुपर्नेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा निर्वाचन गराउनुपर्नेछ । यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन । लामो समयको निराशा, आक्रोशको बिस्फोटन थियो । किन यो जन्मियो त भनेर खोज्ने हो भने देशमा राजनीति र सिस्टममा परिवर्तन धेरै देख्यौं तर त्यसपछिको विकासको एजेण्डामा नेतृत्व दिन हरेक पटक असफल हुँदै गयो । विगतका राजनीतिक नेतृत्वहरू धेरै सफल हुनुभयो तर सफल विकासको सन्दर्भमा सफल नेतृत्वकर्ता हुन सक्नुभएन ।’

मन्त्री घिसिङले ठूलो चुनौतीको बीचमा आफूले मन्त्रीको भूमिका निभाएको  स्मरण गरे । देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लानुपर्छ भन्ने लागेर आफूले मन्त्रीको जिम्मेवारी लिन तयार भएको उनी सुनाउँछन् ।

‘ठूलो चुनौतीको बीचमा मैले एउटा मन्त्रीको भूमिका निभाएर आएको हुँ । जिम्मेवारी लिनुपर्‍यो भन्दा पनि पछाडि हट्ने अवस्था मैले पनि अनुभूति गरेको थिए । मैले एउटा देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई एउटा सेफ ल्यान्डिङमा लानुपर्छ । निकास दिनुपर्छ भनेर यो सरकारमा मन्त्रीको जिम्मेवारी लिएको हुँ ।’

पुराना ऐन–कानूनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचनपछि आउने सरकारल त्यस्ता ऐन, कानून र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे ।

उनले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएको भन्दै तोकिएको समयमै निर्वाचन हुने दावी गरेका छन् ।