काठमाण्डु – सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनुपर्ने जनप्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ ।
बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेनजीका मागहरू सम्बोधन गर्नुको सट्टा उल्टै उनीहरूलाई नै धरपकडले जनता सशंकित भएको समेत पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेनजीहरू माथिको धरपकड तथा दमनले आफूहरूलाई आक्रोशित तुल्याएको बताएका छन् । श्रेष्ठले जनताको शासकहरूप्रतिको चरम असन्तुष्टि र जेनजीको विद्रोहमार्फत सुशासन र भ्रष्टाचारमुक्त देशको सपनालाई वर्तमान सरकारले हत्या गरेको आरोप लगाए ।
‘जेनजीको आन्दोलनमा उपस्थित भएर हप्ता दिनमै भ्रष्टाचार मुक्त गर्छु भन्ने सुशीला त बारबारा फाउण्डेसनको प्रतिनिधिका रूपमा पो काम गर्न थाल्नुभयो, अब उहाँलाई विस्थापन गर्नुको विकल्प छैन,’ श्रेष्ठले भने ।
श्रेष्ठले वर्तमान सरकारले गर्ने भनेको चुनावको औचित्य समाप्त भएको बताउँदै भने, ‘जेनजी विद्रोह मूलत: सुशासन र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको माग भएको तर यो सरकार पुरानै बाटोमा गएकाले देशले यसबाट निकास पाउने देखिन्न ।’
पार्टी उपाध्यक्ष मेनुका श्रेष्ठले विद्रोहमा कलिला होनाहार युवायुवतीको शाहदत भएको र उनीहरूले देखेको सुशासन सहितको भ्रष्टाचारमुक्त देशको सपनालाई मर्न नदिने बताइन् ।
महासचिव राजेन्द्र नेगीले सरकारसमक्ष आफूहरूले राखेका मागहरू प्रस्तुत गर्दै सम्बोधन नभए जेनजीलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए । उनले अन्तरिम संविधान निर्माण गरी सर्वपक्षीय नागरिक सरकार निमार्ण गर्ने, सोही नागरिक सरकारले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए ।
पार्टीका सचिव रमेश महतेले देश परिवर्तनको उच्चतम हुटहुटी भएका नवयुवाहरूलाई भोटिङ अधिकारबाट विमुख गर्ने व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘नागरिकता १६ वर्षमा दिने तर भोट गर्ने तथा उम्मेदवार बन्न नपाउने व्यवस्था संशोधन नगरी चुनावको औचित्य छैन,’ महतेले भने ।
पार्टीका उपाध्यक्ष साङ्गे शेर्पाले विदेशी संस्थाहरूले सहयोगको बहानामा देशलाई अस्थिर बनाउने षड्यन्त्र गर्ने गरेको आरोप लगाउँदै भने, ‘एनजीओ तथा आईएनजीओहरूले देशलाई कसरी अस्थिरता र घातक हुने कार्य गर्दा रहेछन् भन्ने कुरा पछिल्लो विद्रोहमा टीओबी घुसपैठ र बारबार फाउन्डेसन नेतृत्व वर्तमान सरकार काफी छ ।’
आफ्ना मागहरू सम्बोधन गराउन सरकार तथा सरोकारवाला पक्षहरूसँग वार्ता गर्न पार्टीले पार्टी अध्यक्ष निरबहादर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिएको छ । वार्ता टोलीमा साङ्गे शेर्पा, मेनुका श्रेष्ठ, राजेन्द्र नेगी रमेश महते सदस्यहरू रहेका जनाइएको छ ।




प्रतिक्रिया