तोकिएकै समयमा निर्वाचन गराउन नेकपाको अपिल

तोकिएकै समयमा निर्वाचन गराउन नेकपाको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपिल गरेको छ ।

शनिबार नेपाली कम्युनिष्ट पार्टीले अपिल पत्र जारी गर्दै निर्वाचनलाई विभिन्न बहानामा बिथोल्ने प्रतिगामी चलखेलका सम्भावनाहरू रहेको भन्दै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूसँग अपिल गरेको हो ।

‘विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरू अझै पनि विद्यमान छन्,’ अपिल पत्रमा उल्लेख गरिएको छ ।

अपिल पत्रमा भनिएको छ, ‘मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनुपर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ । हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूसँग विशेष अपिल गर्दछ ।’

राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

नेकपाका अनुसार राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ ।