काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आइतबार विशेष कार्यक्रमकाबीच २ पार्टीबीच एकता भएको हो ।
घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।
रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो ।
एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने बताइएको छ ।
उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ । वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने सहमति भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गने पनि सहमति भएको छ ।











प्रतिक्रिया