काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय समितिले पार्टीको आसन्न १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेपनि यसको कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको छ ।
सोमबार केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६–२८ मा गर्ने निर्णय गरेको हो । तर महाधिवेशन समयमै गर्न असम्भवजस्तै भएको र विशेष महाधिवेशनको माग अझै ज्यूँका त्यूँ रहेको छ ।
महाधिवेशनको मिति तय गर्ने निर्णय पार्टीभित्रका विभिन्न समूह र धारहरूबीच ४५ दिनसम्म चलेको तर्कवितर्क, विवाद र छलफलपछि आएको हो । तर महाधिशवेनको गर्ने निर्णय भए पनि तोकिएकै मितिमा गर्न सकिने हो कि होइन भन्नेमा नेता तथा कार्यबीच संशय छ ।
महाधिवेशनको निर्णय सार्वजनिक भएको केही घन्टामै कांग्रेसभित्रको विवाद फेरि सतहमा आयो । केन्दीय समिति बैठकले तय गरेको मितिमा महाधिवेशन हुन्छ या हुन्न या फेरि विशेष महाधिवेशनतर्फ धकेलिन्छ भन्ने प्रश्न यथावत् रहेको छ ।
त्यसअघि नै ५४ प्रतिशत निर्वाचित प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसँगै संस्थपन पक्षमा दवाब सिर्जना भएको थियो । नियमित कि विशेष महाधिशवेनमा नेता तथा कार्यकताहरू बाँडिएपछि सभापति देउवा आफै सक्रिय भएर विवाद समाधान गरेका हुन् ।
देउवा नेतृत्वको संस्थापन पक्ष भने नियमित महाधिवेशनको तयारी भइरहेको भन्दै विशेष महाधिवेशन अस्वीकार गरिरहेको छ ।
तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकटका नेताहरू भने यदि पुसमा नियमित महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशनको प्रक्रिया स्वतः सुरू हुने तर्क गरेका छन् ।
तर महामन्त्री गगन थापा यदि पुसभित्र नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको प्रक्रिया सक्रिय हुने बताउँछन् । ‘कुनै कारणले मात्रै होइन, कुनै नियतले पनि पुसभित्र महाधिवेशन हुन नसकेमा अब विशेष महाधिवेशनका लागि प्रतीक्षा गर्नुपर्दैन’, थापाले भने ।
थापाले महाधिवेशन फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावअघि सम्पन्न गर्नुपर्नेे महत्वपूर्ण आवश्यकता रहेकोपनि बताए ।
केन्द्रीय समितिले तालिका धेरै कडा बनाएको भन्दै धेरै नेताहरू शंकित छन् । ‘महाधिवेशन गर्न तीन महिना लाग्छ, पुस २६मा सम्भव छैन’, मंगलबार नेता शशांक कोइरालाले भने । उनले भने, ‘समय थोरै छ, सम्भव नभए चुनावपछि गर्नुपर्ने हुन्छ ।’
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउने समूहले पनि महाधिवेशन हुनेमा शंका गर्छन् ।
सोमबारकै निर्णयपछि आशंका प्रकट गर्दै उनीहरूले अपिल पनि जारी गरे । अपिलमा भनिएको छ, ‘१५औँ महाधिवेशनको तालिका खास उद्देश्यले ल्याइएको हो कि विशेष महाधिवेशन कमजोर पार्न? समय नै बताउनेछ ।’ उनीहरूले तालिकालाई अवैज्ञानिक र अव्यावहारिक भन्दै टिप्प्णी गरेका छन् ।
‘यदि जिल्लादेखि केन्द्रसम्मको महाधिवेशन शृखला कहींबाट अवरुद्ध भयो भने यसअघि दर्ता भएको विशेष महाधिवेशन प्रस्ताव जीवित हुन्छ र कार्यान्वयन योग्य रहेको ठहरिन्छ’, विशेष महाधिवेशन पक्षधरहरूले जारी गरेको अपिलमा उल्लेख छ र
यस्तै, देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल मध्य माघसम्म थपिएको प्रसंग पनि उठाउँदै उनीहरूले शंका प्रकट गरेका छन् । ‘यसले पनि के संकेत गर्छ भने समयमै महाधिवेशन नहुन सक्छ’, उनीहरूले भनेका छन् ।




प्रतिक्रिया