मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज सकिँदै

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज सकिँदै

मुख्यमन्त्रीको चर्चामा यादव र सोनल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय शुक्रबार सकिँदैन । नयाँ सरकारका लागि दाबी पेश गर्ने समय साँझ ५ बजेसम्म रहे पनि को मुख्यमन्त्री बन्ने अझै अनिश्चित छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा, १६८ को २ बमोजिम शुक्रबार बेलुकी ५ बजेसम्म सरकारका लागि दाबी पेश गर्न समयसीमा निर्धारण गरेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको गृहकार्य शुरू भएको हो ।

एमाले बाहेक सात दलीय गठबन्नमा रहेको नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्वमा दाबी नछाडेपछि नयाँ मुख्यमन्त्रीको नाममा सहमति कायम हुन नसकेको हो ।

सात दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।

मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छन् । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद अघि बढाएका छन् । सोनल यसअघि पनि मुख्यमन्त्री भएका हुन् । लोसपा बाहेक दल करिब करिब यादवको नाममा सहमति नजिक छन् ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले शुक्रबार २ बजे सात दलले नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने बताए । उनले सात दलीय गठबन्धनको भावना अनुसारै सरकार गठन हुने र मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीको शपथ हुने दाबी गरे ।