काठमाण्डु– एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिलेको अवस्थामा एमालेमा केपी ओलीको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले महाधिवेशनलाई एकता बनाउनुपर्ने भन्दै अहिले परिस्थितिमा ओलीको विकल्प खोज्नु नहुने बताएका हुन्।
एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले अहिले पनि एमाले र देशलाई केपी ओलीको आवश्यकता रहेको जिकिर गरे। अहिलेको महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा पार्टीलाई विघटन र विसर्जनतिर लाने उनको बुझाइ छ ।
अध्यक्षले महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने सन्देश दिइसकेको बताए। विधानलाई संशोधन गरेर भएपनि नेतृत्व चयन सर्वसम्मत हुने उनले बताए।
‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश दिएको छ,’ थापाले भने, ‘सोही म्यान्डेटअनुसार ११ औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ।प्रतिस्पर्धाको नाममा एकताविरुद्ध जानु हुँदैन। एकतावद्ध भएर ओलीकै नेतृत्वमा जानुपर्छ। आम जनता र कार्यकर्ताको चाहना पनि यही हो,’ थापाले भने।
उनले अहिलेको अवस्थामा पार्टी र देशलाई आफ्नो भूमिका पनि आवश्यक रहेको दाबी उनले गरे। ‘अध्यक्षमा ओलीको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहना मेरो छ। पार्टीलाई एकतावद्ध गर्दै एमालेलाई अघि बढाउन पनि यो जरुरी छ,’ बादलले भने।
केपी ओलीमाथि मुद्दा लगाएर सिध्याउने, कांग्रेस र माओवादीका नेतालाई पनि मुद्दा लगाएर सक्ने योजनामा उनीहरु लागेको तर्क थापाले गरे। यसले नेपालको राष्ट्रिय अखण्डता र अस्थित्वमै खतरा उत्पन्न गरिरहेको थापाले बताए।




प्रतिक्रिया