मधेशको नयाँ सत्ता समीकरण मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

मधेशको नयाँ सत्ता समीकरण मुलुकमै नयाँ राजनीतिक समीकरण हुनसक्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा हालै बनेको नयाँ सत्ता समीकरणले मुलुकमै नयाँ राजनीतिक समीकरण निर्माण हुन सक्ने संकेत गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा बोल्दै संयोजक प्रचण्डले नेकपा र मधेशवादी दल सहितको समर्थन नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समीकरणको अन्त्य भई नयाँ राजनीतिक समीकरणको सुरुवात भएको बताए ।

मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको बताए ।

उनले नेपाली जनतामा रहेको वर्षाैंदेखिको पीडा र विभेद अन्त्य गर्दै आत्मनिर्णयको अधिकारलाई साकार गर्न विभिन्न पार्टीमा छरिएर रहेका कम्युनिष्ट र समाजवादीहरू एक भएर नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

कृषि क्रान्ति विना मधेशका साथै समग्र देशकै समृद्धि सम्भव नरहेको र दु:खका साथ वैदेशिक रोजगारी जान बाध्य युवाहरूलाई मुलुकमा रोक्न नसक्ने भएकाले अबको क्रान्ति कृषि क्रान्तिको लागि हुनुपर्ने बताए ।

एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको धारणा राखे ।

नेता खनालले २०६२/६३ को जनआन्दोलनले पुँजीवादी लोकतन्त्रको स्थापना गरेकाले वर्तमान व्यवस्थाबाट गरीब, सीमान्तकृत समुदाय झन् उपेक्षित हुँदै गएको बताए ।

उनले पुँजीवादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा परिणत गराउन नेपाली कम्युनिष्ट पार्टी अग्रपंक्तिमा रहेको दाबी समेत गरे । मुलुकमा व्याप्त विभेद, उत्पीडनको अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापनाको निमित्त नेपाली कम्युनिष्ट पार्टी सदैव लडिरहने बताए ।

एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा समाजवाद छिट्टै आउने र डंका बजाएरै आउने उल्लेख गरे ।

उनले राष्ट्रका लागि पुँजीवादी अर्थव्यवस्था वा साम्यवादी अर्थव्यवस्था उपयुक्त नरहेकाले समाजवादी व्यवस्थाको स्थापनाको लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।

व्याप्त भ्रष्टाचार र बेथितिका कारण मुलुकमा जेनजी विद्रोह भएको उल्लेख गर्दै सहसंयोजक नेपालले जेनजीहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन नगरिए पुन: अर्को विद्रोह हुन सक्ने बताए ।

उनले जेनजीको भरोसाको केन्द्र नै नेकपा बनेको दावी गर्दै देशभरका जेनजी युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै गएको बताए । उनले जेनजीजस्तै युवा, वृद्ध र महिला सबैलाई नेकपाप्रति विश्वास गर्न आग्रह समेत गरे ।

एकता सभामा विभिन्न पार्टी परित्याग गरी सयौं नेता, कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा सहभागी भएका थिए ।