भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको गोवा राज्यको अर्पोरा क्षेत्रमा एउटा नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। घाइतेको संख्या यकिन भइसकेको छैन।

प्रहरीका अनुसार राति करिब १२ बजेतिर भुइँतलाको भान्छाबाट आगो सुरु भई माथिल्ला तलासम्म फैलिएको थियो। धेरैजसो शव भान्छा क्षेत्र र सिँढीमा भेटिएका छन्। भाग दौडमा सिँढीमै दुई जनाको पनि मृत्यु भएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये तीन महिला र तीन–चार जना पर्यटक रहेको बताए। अधिकारीहरूका अनुसार अधिकाशंको निसास्सिएर मृत्यु भएको छ ।

गोवाका डीजीपी आलोक कुमारका अनुसार आगो भुइँ तल्लाको भान्छाबाट क्लबको अन्य भागहरूमा फैलिएको थियो। धेरैजसो शव भान्सा क्षेत्रमा भेटिएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानमा नाइट क्लबले आगो सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ। घटनास्थल सिल गरिएको छ भने फरेन्सिक टोलीले विस्तृत अनुसन्धान थालेको छ।

स्थानीय अधिकारीहरूका अनुसार उक्त क्लबका अधिकांश कर्मचारीहरू भएको अनुमान छ।

द इन्डियन एक्सप्रेसका अनुसार उक्त आगलागी तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा भएको हो ।

आगलागीको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको र लापरबाही गर्नेहरूलाई कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले बताएका छन्।