काठमाण्डु – एमालेको ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष हुने तयारीमा रहेका केपी शर्मा ओलीलाई साथ दिइरहेका उपाध्यक्ष विष्णु पौडेल पदीय दायित्व लिने मनसाय प्रकट गरेका छन् ।
१९ सदस्यीय पदाधिकारीमा ११ नेताहरूमध्ये पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने चाहना प्रकट गरेका हुन् । यस्तै अर्को उपाध्यक्ष रामबहादुर थापा पनि पुरानै पदमा दोहोरिन चाहेका छन् ।
पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि त्यसका लागि एमालेले विधान संशोधन गरेर फेरि वरिष्ठ उपाध्यक्ष पद राख्ने तयारी गरेको छ ।
आफू महासचिव र अध्यक्षको दाबेदार नरहेको बताइरहेका पौडल सुरुमा ईश्वर पोखरेल समूहसँग निरन्तर संवादमा थिए । तर अहिले उनी ओलीको पक्षमा खुलेका छन् ।
उनी ओली समूहबाट पार्टीको वरिष्ठ उपाध्यक्ष बन्न लविङ गरिरहेका छन् । पौडेल एमाले भित्रको शक्ति सन्तुलनमा निर्णायक मानिन्छन् ।
वरिष्ठ उपाध्यक्ष पद फेरि सिर्जना गर्दा ओली पक्षबाट त्यसको एक मात्र उम्मेदवार पौडेल नै हुन् । पौडेलले पनि आफूले अध्यक्षमा ओलीलाई समर्थन गर्ने र महासचिवको दाबेदार आफू नरहेकाले अन्य पदमा उठ्ने सार्वजनिक रुपमा बताइसकेका छन् ।
आफ्नो पक्षका र केही असन्तुष्ट नेताहरूको समेत व्यवस्थापन गर्नु पर्ने भएकाले अध्यक्ष ओलीले विधान संशोधनको तयारी गरेका हुन् ।
एमाले महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ भने मंसिर २८ गते काठमाण्डुको भृकुटी मण्डपमा बन्द शत्र हुनेछ ।
बन्द शत्रमा वरिष्ठसहित दुई उपाध्यक्ष थप गरेर अहिलेको संख्या तीनबाट ५ जना उपाध्यक्ष पुर्याउने विषयमा ओली समूहबीच छलफल चलिरहेको छ । साथै दुई सचिव थपेर सचिवको संख्या ८ पुर्याउने पनि आन्तरिक तयारी छ ।
यसका साथै केन्द्रीय सदस्यहरूको संख्या २५१ बाट बढाएर फेरि ३०१ पुर्याउने तयारी पनि ओली पक्षको छ । त्यस्तै, पोलिटब्यूरो सदस्यहरूको संख्या ९९ बाट बढाएर १०१ र स्थायी कमिटी सदस्यको संख्या ४५ बाट घटाएर ४१ बनाउने तयारी छ ।
ओली पक्षमै रहेका उपाध्यक्ष रामबहादुर थापा बादल पनि प्रवल दाबेदार हुन् । उनले पनि वरिष्ठ उपाध्यक्ष बन्न चाहना राखेको ओली निकट एक नेताको भनाइ छ । थापा तत्कालीन माओवादी केन्द्र छाडेर एमालेमा आएका हुन् । पौडेललाई सहि ठाउँमा व्यवस्थापन गर्न र ओली पछिको वरियतामा राख्न वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने तयारी भइरहेको ती नेताले बताए ।




प्रतिक्रिया