वैकल्पिक भनिएका दल नै अब मूलधार बन्नेतर्फ उन्मुख छ : डा. जोशी

वैकल्पिक भनिएका दल नै अब मूलधार बन्नेतर्फ उन्मुख छ : डा. जोशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लामो समयसम्म एमालेको नेतृत्वदायी भूमिकामा सक्रिय रहेका र पछिल्ला वर्षहरूमा स्वतन्त्र हैसियतमा रहेर राजनीतिक यात्रामा अगाडि बढेका तारा प्रसाद जोशी अहिले ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक दलहरूको आवश्यकतादेखि पुराना दलहरूको कमजोरी तथा संरचनात्मक विफलता, जेनजी आन्दोलनको प्रभाव र उज्यालो पार्टीको निर्माणसम्मका विषयहरुमा आफ्नो धारणा स्पष्ट पारे ।

उनका अनुसार अब वैकल्पिक भनिएका दल नै मूलधारतर्फ उन्मुख भइरहेका छन् र पूराना संरचना तोडेर नयाँ राजनीतिक एजेन्डा बोकेर स्थापित हुँदैछन् ।

जोशी भन्छन्, ‘एमालेबाट प्रदेश सभामा निर्वाचित भइसकेपछि डर र जिम्मेवारीका कारण करिब पाँच वर्षसम्म मैले केही बोलिनँ । तर कार्यकालको अन्त्यतिर नयाँ राजनीतिक दलहरू निर्माणको आवश्यकता देखेँ ।’ २०७९ सालको निर्वाचनमा भने उनी डडेलधुराको प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका थिए ।

जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचनाको कमजोरी खुलाएको र नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्ने वातावरण बनाइदिएको उनले बताए । उनका अनुसार जेनजी आन्दोलनले युवाहरूको नयाँ सोचलाई संस्थागत गर्नुपर्ने आवश्यकता स्वाभाविक रूपमा अघि बढाएको छ ।

यस्तै निष्कर्षले गर्दा नै ‘उज्यालो नेपाल पार्टी’ निर्माणतर्फ आफू र आफ्नो समूह अघि बढेको उनको दाबी छ । ‘अब वैकल्पिक राजनीति दलहरू वैकल्पिक रहनेवाला छैनन्, किनभने यो मूलधारको शक्ति हुँदैछ,’ जोशीको ठहर छ ।

पुराना दलहरूको ३५ वर्षे शासनको समीक्षा गर्दै जोशीले भने, ‘पुराना दलहरूले सुशासनमाथि गरेको गम्भीर बेवास्ताका कारण संस्थागत संरचना अत्यन्तै कमजोर बन्न पुग्यो । ती पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाउनुनका साथै आर्थिक प्रणालीलाई समेत भाइब्रेन्ट बनाउन सकेनन्, यो लोकतन्त्रको कुरूप अनुहार हो, यस्तो व्यवस्थाबाट सुधारको अपेक्षा गर्न सकिन्न ।’

उनका अनुसार २४ घण्टामै राज्यका प्रमुख संस्था धराशायी हुने अवस्थाले पुराना दलहरूको कमजोर शासनशैली उदांगो बनाइदियो । भ्रष्टाचार, कमजोर सुशासन, नातावाद–कर्मकाण्ड, कमजोर भौतिक पूर्वाधार र रोजगारी सिर्जनामा असफलता जस्ता कुराहरूले पुराना दलप्रतिको जनविश्वास लगभग समाप्त भइसकेको उनको ठम्याइ छ ।

जोशी भन्छन, ‘जेनजी आन्दोलन अघिल्ला राजनीतिक क्रान्तिमा छुटेको सुशासनको पक्षलाई पुरा गर्ने पूरक आन्दोलन थियो । पुराना दलहरूको मनोविज्ञान परिवर्तन हुन नसक्ने भएकाले हामी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ उन्मुख भएका हौँ ।’

आगामी चुनावबारे बोल्दै उनले कांग्रेस र एमाले दुवै अधिवेशनमा व्यस्त हुने भएकाले समयमै चुनावी तयारीमा पुग्न कठिनाइ हुने अनुमान गरे । उनले पुराना दलहरूबीच गठबन्धन अब असम्भव रहेको उल्लेख गर्दै कांग्रेस–एमालेबीच नैतिक, सामाजिक र राजनीतिक आधार कमजोर भइसकेकाले जनताले अप्राकृतिक एकतालाई स्वीकार नगर्ने दाबी गरे । नयाँ राजनीतिक शक्तिहरूबीच एकता सम्भव देखिन्छ भन्दै उनले त्यतातिर प्रयास भइरहेको बताए, तर नयाँ दल बन्दैमा मात्र सुशासनको ग्यारेन्टी नरहेको स्पष्ट पारे ।

डा. जोशीका अनुसार वैकल्पिक सोच हिजोका पुराना पार्टीले पटक पटक जनतालाई धोका दिएको उपज हो । आजको पुस्ताको राजनीतिक मानसिकता नै बदलिएपछि वैकल्पिक शक्तिको जन्म भएको हो । पुराना पार्टीहरू मेनस्ट्रीम रहेकै समयमा बनिएको सोच र आजको सोचबीच ठूलो दूरी रहेको उनले स्पष्ट पारे ।

‘यही कारण वैकल्पिक भनिएका पार्टीहरू अब वैकल्पिक रहनेवाला छैनन् उनीहरूको एजेन्डा र सोच नै ‘मेनस्ट्रीम’ हुँदैछ । हामीले पार्टी घोषणा गर्नेबित्तिकै जनता र मिडियाबाट आएको आकर्षणले देखायो कि नयाँ शक्ति अब, औपचारिक रूपमा मेनस्ट्रीममा प्रवेश गर्दैछ,’ उनले भने ।

उज्यालो नेपाल पार्टी अरुभन्दा फरक रहेको दाबी गर्दै उनले यसको यात्रापनि मूलधारतर्फ अघि बढेको बताएका छन् । ‘हामी मेनस्ट्रिम हुने बाटोमा किनपनि छौं भने हामीले डेलिभरीमा केन्द्रित संगठन निर्माण गरिरहेका छौं । पूराना दलको संगठन जेल, संघर्ष वा परम्परागत विचारमा आधारित भएपनि उज्यालो नेपाल पार्टी ‘डेलिभरी दिन सक्ने व्यक्तित्व’ केन्द्रित संस्थागत संरचनामा आधारित रहनेछ,’ उनले थपे ।

‘हाम्रो पार्टीमा नेतृत्वको स्पष्ट भूमिका विभाजन गरिएको छ । साथै कुलमान घिसिङ ‘मेन्टर’ को भूमिकामा रहनु हुनेछ । उहाँ हाल सरकारमा रहेकाले पार्टीको जिम्मेवारी अनुप उपाध्यायले लिनुभएको हो । यो सांगठनिक जिम्मेवारी र आन्तरिक आचारसंहिता हो, नैतिक मानक हो ।’

डा. जोशी उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्