काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पनि डडेल्धुराबाट चुनाव उठ्ने तयारीमा लागेका छन्। देउवा निकट स्रोतका अनुसार उनी अन्तिम पटक पुनः डडेल्धुराबाटै उम्मेदवार बन्ने तयारीमा जुटिरहेका छन्।
उनी सात पटक लगातार डडेल्धुराबाट सांसद निर्वाचित भइसकेका छन् भने पाँच पटक प्रधानमन्त्री बनेका नेता हुन्। कांग्रेसको विधानअनुसार देउवाले अब सभापति पदमा उम्मेदवारी दिन पाउँदैनन्।
“फागुन २१ गते हुने निर्वाचनमा देउवा उम्मेदवार बन्ने कुरा लगभग पक्का जस्तै छ। यो चुनाव उनको लागि अन्तिम हुने देखिन्छ,” देउवा निकट स्रोतले जनाएको छ।
देउवाले आफ्ना निकटस्थहरुलाई पनि आगामी निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिइसकेका छन्।
जेन्जी आन्दोलनको क्रममा देउवामाथि भएको सांघातिक आक्रमणपछि उनी थप उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए। धेरैले देउवाले सक्रिय राजनीतिबाट अब विश्राम लिन्छन् भन्ने अनुमान गरेका थिए। तर केही समयअघि उनी सिंगापुरबाट फर्किएर पुनः सक्रिय राजनीतिमा फर्किएका छन्।
हालै मात्र देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। दुई नेताको भेटवार्तापछि कांग्रेस सचेतक श्याम घिमिरे संसद पुनर्स्थापनाको मागसहित अदालत पुगेका थिए। ओली र देउवाबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ।




प्रतिक्रिया