काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आसन्न १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता भण्डारीले लेखेका छन् ।
देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् ।
‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’ उनले लेखेका छन्, ‘साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’
१४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा उनले १ हजार ५८० मत पाएर चौथो भएका थिए ।





प्रतिक्रिया