काठमाण्डु – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि नेपाली कांग्रेसका नेताहरूको नाम धमाधम सिफारिस भइरहेको छ ।
पार्टी केन्द्रीय समितिको निर्णय र निर्देशनअनुुसार क्षेत्रीय समितिहरूले निर्वाचनमा उम्मेदवारका लागि नेताहरूको नाम सिफारिस गरेका हुन्।
यसक्रममा महामन्त्री गगन थापाको काठमाण्डु क्षेत्र नम्बर ४ बाट पनि सर्वसम्मत रुपमा सिफारिस भएको छ । कांग्रेस क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत र एकल रुपमा सिफारिस गरेको हो ।
बैठकले समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम सिफारिस गरेको छ ।
महामन्त्री थापाको नाम रोल्पा, सर्लाही–४ र धनकुटाबाट पनि सिफारिस भएको छ ।
यसैगरी नेता बालकृष्ण खाँण रुपन्देही–३ बाट सिफारिस भएका छन् । पूर्वगृहमन्त्री समेत रहेका निर्वाचन क्षेत्रमा उनीसहित ६ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका लागि खाँण, क्षेत्रीय सभापति गुरुङ, रमेश खनाल, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्री सिफारिस भएका छन् ।
प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फका लागि जन्नतुन निशा धुनिया (अल्पसंख्यक), पुष्पा थरुनी (थारु) र माधवी शर्मा (महिला)तर्फ सिफारिस भएका छन् ।
राष्ट्रियसभा सदस्य पदका लागि सोमनाथ शर्मा (खस आर्य), मीननाथ शर्मा (अपाङ्ग), भीमप्रसाद न्यौपाने (खस आर्य) र मोहन सरदार (अल्पसंख्यक)तर्फ सिफारिस भएका छन् ।
यसका साथै कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत–१ बाट सर्वसहमतिमा सिफारिस भएको छ। गत निर्वाचनमा पनि सोही क्षेत्रबाट खड्का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। त्यस्तै नेता डा. शेखर कोइराला मोरङ –६ बाट एकल सिफारिस भएका छन्। कोइराला पनि सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका थिए।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका छन्। शर्मा झापा –१ बाट सिफारिस भएका हुन् भने पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिस भएको छ।
राणा यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिइन्। कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिको नाम धनुषा–३ बाट सिफारिस भएको छ।




प्रतिक्रिया