काठमाण्डु – नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी)ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
सुदूरपश्चिमको बझाङ खप्तड छान्ना घर भएका सिंहले पार्टीको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।
अनेरास्ववियुबाट राजनीतिमा उदाएका सिंहले पार्टीभित्र युवाको माग र एजेण्डालाई समावेश गराउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
‘महाधिवेशनबाट एमालेले ४० वर्ष मुनिका युवालाई समेट्ने भएकोले युवाको सशक्त आवाजलाई सम्बोधन गराउनका लागि आफ्नो उम्मेदवारी रहेको छ’, सिंहले भने ।
पार्टीमा धेरै युवा उम्मेदवार केन्द्रीय सदस्यको आकांक्षी बनेपनि आफ्नो एजेन्डा त्यसभन्दा फरक रहेको अनेरास्ववियु केन्द्रीय कमिटीका पूर्वसचिव तथा सम्पर्क विभाग प्रमुख समेत रहेका सिंहको दाबी छ ।
जेन जी आन्दोलनपछि भएको नयाँ खालको आन्दोलनले युवालाई झक्झकाएको भन्दै उनले यसले पार्टीभित्र पनि नयाँ पुस्तालाई समावेश गरेर लैजानुपर्ने आवाज उठेको उनको भनाइ छ । ‘जसका कारण ४० वर्ष मुनीका युवालाई पनि केन्द्रीय कमिटिमा समेट्ने योजना पार्टीको रहेको छ’, सिंहले भने, ‘युवा शक्तिलाई नेतृत्वस्तरमा लैजाँदा युवाको जायज माग सम्बोधन हुन्छ ।’
उनले युवाको नेतृत्वमा भ्रष्टाचार अन्त्य गर्ने तथा राष्ट्रियता र सुशासन स्थापित गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।




प्रतिक्रिया