जेन जी आन्दोलन : तीन महिनादेखि कर्णाली प्रदेशसभा ठप्प

जेन जी आन्दोलन : तीन महिनादेखि कर्णाली प्रदेशसभा ठप्प

पुनर्निर्माण गर्ने मुख्यमन्त्रीको निर्देशन बोलीमै सिमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ २३ र २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड पछि कर्णाली प्रदेशसभा बैठक विगत तीन महिनादेखि ठप्प छ ।

प्रदेशसभामा आगजनी र तोडफोड यता प्रदेशसभा बैठक बसेको छैन । प्रदेश विधायिकाको दोस्रो कार्यकालको छैटौं अधिवेशन साउन २१ गते अन्त्य भएको थियो र त्यसयता कुनै बैठक बस्न सकेको छैन ।

भदौ २४ गते जेन जी प्रदर्शनकारीहरूले प्रदेशसभा भवनमा आगजनी गर्दा मुख्य पूर्वाधार नष्ट भएको थियो ।

प्रदेशसभा परिसरका २३ वटा ब्लकमध्ये मुख्य सभाकक्ष, सचिवालय, बैठक हलहरू, तीनवटा संसदीय दलका कार्यालय र दुईवटा विषयगत समितिका भवनहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यसका कारण कर्णाली प्रदेश सरकारले अर्को अधिवेशन आह्वान गर्न सकेको छैन ।

आगजनीपछि अहिले दैनिक प्रशासनिक कामकाज र संसदीय समितिहरूका बैठक मात्र सञ्चालन भइरहेका छन् ।

‘धेरैजसो कार्यालय, कागजात, फर्निचर, कम्प्युटर र विद्युतीय उपकरण नष्ट भएकाले प्रदेशसभा अधिवेशनको भविष्य अन्योलमा परेको छ,’ प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्रबहादुर कार्कीले भने ।

‘अघिल्ला वर्षहरूमा प्रायः दशैं–तिहारपछि तुरुन्तै अधिवेशन सुरु हुन्थ्यो । तर पुनर्निर्माण नगरी यहाँ अधिवेशन बोलाउनु सम्भव छैन । वैकल्पिक स्थलको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ,’ कार्कीले बताए ।

संविधानअनुसार छ महिनाभित्र प्रदेशसभाको अधिवेशन बस्नैपर्ने भएकाले प्रदेश सरकारले माघ २१ गतेभित्र अधिवेशन आह्वान गर्नुपर्ने कार्कीले जानकारी दिए ।

बैठक नबस्दा सांसदहरूले अपेक्षाभन्दा बढी फुर्सद पाएका छन् । प्रदेशसभा बैठक नहुँदा सांसदहरूले जनसरोकारका विषय उठाउन, सरकारसँग प्रश्न गर्न र प्रस्तावित कानुनमाथि छलफल गर्न पाएका छैनन् ।

प्रदेशसभा सचिवालयका अनुसार आगजनी र तोडफोडबाट करिब ४ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मुख्यमन्त्री यामलाल कँडेलले पुनर्निर्माण अघि बढाउन निर्देशन दिँदै बजेटको कमी नहुने आश्वासन दिए पनि अहिलेसम्म पुनर्निर्माण सुरु हुन सकेको छैन ।

सचिवालय सचिव जीवराज बुढाथोकीका अनुसार अर्को प्रदेशसभा बैठक कहिले र कहाँ बस्ने भन्ने विषयमा अझै निर्णय भएको छैन ।

बुढाथोकीका अनुसार सरकार वैकल्पिक स्थलका रूपमा विभिन्न मन्त्रालय वा निर्देशनालयका भवन, जिल्ला समन्वय समितिको हल र सिटी हलजस्ता स्थानबारे विचार गरिरहेको छ ।

प्रदेशसभा अधिवेशन नबसिरहे पनि प्रदेशसभा समितिहरू भने अपेक्षाकृत सक्रिय छन् । कर्णाली प्रदेशमा हाल चारवटा समिति छन् । जेन–जी आन्दोलनपछि यी समितिहरूले २८ वटा बैठक बसेका छन् ।