ओलीलाई सुरेन्द्र पाण्डेले भने- अध्यक्ष कमरेड तपाईं आफैंले भनेको विचारमा उभिनुस्

ओलीलाई सुरेन्द्र पाण्डेले भने- अध्यक्ष कमरेड तपाईं आफैंले भनेको विचारमा उभिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकासको आवश्यकतामा जोड दिएका छन् ।

नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियालाई संस्थागत गर्नुपर्ने धारणा राखे ।

कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’

उनले कार्यकर्ताले आफ्नै फिल्डका नेता पहिचान गरी मूल्यांकनका आधारमा नेतृत्व चयन गर्ने पद्धति विकास गर्नुपर्नेमा बल दिए । पाण्डेका अनुसार यस्तो परिपाटी स्थापित हुँदै गयो भने पार्टीलाई कसैले कमजोर बनाउन नसक्ने र महाधिवेशनको यही ‘लडाइँ’मा एमाले सफल हुने विश्वास उनले व्यक्त गरे ।

साथै, उनले पार्टीभित्र नेतृत्व दोहोरो नदोहोरिने प्रावधान अनिवार्य गर्नुपर्ने माग पनि दोहोर्याए । ‘हामी यो पार्टीलाई लोकतान्त्रिक बाटोबाट हिँडाउन चाहन्छौं । यसको लागि दुई पटकभन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था विधानमै गर्नुपर्छ । यसको लडाइँ हामी गरिरहेका छौँ,’ पाण्डेले भने ।

यस्तै उनले विद्या भण्डारीलाई सदस्यता दिने विषयमा पनि ओलीले पहिला र अहिले फरक फरक विचार अघि सारेको भन्दै आपत्ति जनाए ।

उनले भने ‘त्यसैगरी कमरेड विद्या भण्डारी राष्ट्रपति हुनुभयो । उहाँले आएर पार्टीको सदस्यता नवीकरण गर्नुभयो । स्वयं अध्यक्षले राष्ट्रपति भएको व्यक्ति सदस्य भएर पार्टीको सदस्य बन्न मिल्छ कि मिल्दैन भन्दा बन्न मिल्छ भनेर उहाँले तर्क पनि गर्नुभयो । त्यही कुरा अहिले आएर मिल्दैन भन्नुहुन्छ,’ पाण्डेको भनाइ छ ।

‘एउटै विषयमा दुई वटा धारणा एउटै व्यक्तिले गर्छ भने त्यसलाई के भन्ने ? यो नैतिक प्रश्न हुन्छ कि हुँदैन ? एउटै व्यक्तिले एउटै विषयमा भिन्न भिन्न विचार राख्छ भने यो के हो ? ,’ पाण्डेले भने, ‘अध्यक्ष कमरेड तपाईं आफैंले भनेको विचारमा उभिनुस् । दुई टर्म र पार्टी सदस्यताको विषयलाई बखेडाको विषय नबनाऔं ।’