काठमाण्डु – नेकपा एमालेको ११औं महाधिवेशनको औपचारिक उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा भएको छ ।
उद्घाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू उद्घाटन सत्रमा उपस्थित थिए ।
उद्घाटन समारोह सकिएसँगै एमालेले भोलि आईतबार बिहान ८ बजेदेखि काठमाण्डुको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन गर्नेछ ।
बन्दसत्र सञ्चालनका लागि एमालेले विगतको अभ्यासभन्दा फरक विधि अपनाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सिंगो सचिवालयले नै अध्यक्ष मण्डलको काम गर्ने र बन्दसत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आवश्यक कार्यक्रमहरू तर्जुमा गर्ने जनाएका छन् ।
गत भदौमा सम्पन्न विधान महाधिवेशनमै राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमा छलफल भइसकेकाले चालु महाधिवेशनको बन्दसत्रमा कुनै नीतिगत प्रस्ताव पेश हुने छैनन्, बन्दसत्र नयाँ नेतृत्वको चयनमा केन्द्रित हुनेछ ।
बन्दसत्रबाट पारित गर्नुपर्ने विशेष प्रस्तावहरूको तयारीका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्वमा समिति बनाइएको छ । बन्दसत्रका निर्णयहरूलाई माइन्यूटिङ गर्नका लागि अर्का उपमहासचिव पृथ्बीसुब्बा गुरुङको संयोजकत्वमा समिति बनाइएको छ ।
महाधिवेशनले दोस्रो राष्ट्रिय विधान महाधिवेशनले पारित गरेअनुसार १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । नेतृत्व चयनका लागि विद्युतीय मतदानको व्यवस्था गरिएको छ ।
अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली नै दोहोरिन चाहेका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् । अध्यक्ष पदमा सहमति बन्ने सम्भावना कम रहेकाले ओली र पोखरेलको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बन्ने बताइएको छ ।




प्रतिक्रिया