काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन् ।
गृहजिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्णसमर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताए । उनले नेताहरूले पटक–पटक एउटै समस्या समाधान गर्छु भनेर भोट माग्ने तर समस्या समाधान नहुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘एउटै योजनामा पटक–पटक बजेट हालेर पनि योजना बन्दैन,’ उनले भने, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न आवश्यक छ ।’
पार्टी अध्यक्ष साम्पाङले अब कुराभन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
आमसभा कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्वउपसभापति सीताराम राई र पहिचानवादी नेता मोहन गुरुङ लगायत विभिन्न पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
कार्यक्रममा पार्टीले खोटाङमा नयाँ कार्यसमिति पनि गठन गरेको जानकारी दिए । प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई रहेका छन् । धनीराम नछुङ सचिव, भविराज राई र मिलन खड्का सहसचिव, कौशिला राई कोषाध्यक्ष, सुवास राई सहकोषाध्यक्ष तथा राजन राई प्रवक्ता रहेका छन् ।




प्रतिक्रिया