काठमाण्डु – नेकपा (एमाले)को ११ औँं महाधिवेशनमा अध्यक्ष केपी ओली समूह र ईश्वर पोखरेल समूहबाट चार जनाले महासचिव पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच अध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित भएसँगै उनीहरू महासचिव पदमा दाबी गरेका हुन् ।
पोखरेललाई सघाइरहेका र गत महाधिवेशनमा महासचिवमा पराजित उपाध्यक्ष सुरेन्द्र पाण्डे यस पटक फेरि महासचिवमा उम्मेदबार बन्ने तयारी गरेका छन् ।
यस्तै संस्थापनबाट वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्बीसुब्बा गुरुङले दाबी गरेका छन् ।
ज्ञवाली र गुरुङले महासचिवमा रुचि देखाएपछि ओलीलाई पद व्यवस्थापन गर्न कठिनाइ भएको छ । यसैगरी जनजातिबाट आफ्नो क्षमता प्रदर्शन गर्दै आएका गुरुङलाई ओलीले आफूसँगै राख्न चाहेका छन् ।
यद्यपि ओलीले कसलाई सघाउने अहिले खुलिसकेको छैन । गुरुङले महासचिवको दाबी नछाड्ने संकेत दिएका छन् ।
ज्ञवालीले पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । महासचिव पोखरेललाई नै दोहोर्याउने कि उपमहासचिवमध्येबाट नयाँ उम्मेदवार बनाउने भन्नेमै ओली अहिले पनि दोधारमा छन् ।
पोखरेल, ज्ञवाली र गुरुङ तीनै जनाले सातौं महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीबाटै ओलीलाई साथ दिँदै आएका छन् ।




प्रतिक्रिया