काठमाण्डु – निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ र प्रदेशसभा निर्वाचन २०७९ का लागि पर्यवेक्षण गर्न २६ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।
निर्वाचन पर्यवेक्षण निर्देशिका २०७९ बमोजिम ९१ दिनको समय लिई प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरिएको थियो । सोही आह्वानअनुसार ४४ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको थियो ।
प्राप्त निवेदनहरूमध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका २६ वटा राष्ट्रिय तथा ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी आयोगबाट निर्णय भएको छ ।
अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षण संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल, राष्ट्रिय बहस मञ्च, नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, युनाइटेड मिसन नेपाल, राष्ट्रिय व्यवसायिक पहल, बाँकेवारी असल शासन क्लब (बाँस), कानुनी व्यावसायिक अध्ययन प्रतिष्ठान, यूएन क्याप, युवा नेपाल, सर्वाेत्कृष्ठ समूह नेपाल, सामूहिक अभियान, युवा जागरण नेपाल, लोकतन्त्र तथा निर्वाचन नेटवर्क नेपाल, अन्तर्राष्ट्रिय गैरसरकारी क्षेत्र केन्द्र (इन्सेक), सामाजिक परिचालन तथा संवैधानिक अभिवृद्धि समूह नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल, इन्टरनेसनल यूएनएचआर काउन्सिल अफ नेपाल, महिला कानून र विकास मञ्च, समृद्ध आधार नेपाल, महिला सेवा संस्था नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, प्राकृतिक विज्ञान परिषद् नेपाल रहेका छन् ।
निर्वाचन पर्यवेक्षण निर्देशिकाबमोजिम आवश्यक पर्ने कागजात पेश गर्न बाँकी संस्थाहरूलाई ५ दिनभित्र थप कागजात पेश गर्न पत्राचार गरिएको छ । माग बमोजिमका कागजात प्राप्त भएपछि आवश्यक निर्णय गरिने आयोगले जनाएको छ ।





प्रतिक्रिया