काठमाण्डु – विष्फोटक पदार्थ सम्बन्धी कसूरमा संलग्न रहेका फरार प्रतिवादी राजकुमार तामाङ लामालाई प्रहरीले काठमाण्डुको कपनबाट पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार बुढानिलकण्ठ नगरपालिका–११ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका ५० वर्षीय लामामाथि १३ वर्षअघि काठमाण्डुको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराएको गम्भीर आरोप छ । २०६८ फागुन १५ गते भएको विष्फोटमा परी मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो भने सोम तामाङ लगायत अन्य व्यक्तिहरू घाइते भएका थिए । घटनामा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न देखिएका लामालाई यसअघि २०६९ असार १२ गते पाँचथरमा विष्फोटक पदार्थसहित पक्राउ गरिएको थियो ।
पाँचथरमा पक्राउ परेपछि उनलाई अनुसन्धान र कारबाहीका लागि काठमाण्डु पठाई केन्द्रीय कारागार नख्खुमा राखिएको थियो । उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा जेलबाट छुटेका थिए । यद्यपि जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी अर्को मुद्दामा उनी फरार सूचीमा रहेकाले पुन: पक्राउ गर्नुपर्ने भएको प्रहरीले जनाएको छ ।
धनकुटा जिल्लाको साविक चुङमाङ–१ घर भएका उनी हाल कपन बस्दै आएका थिए । उनलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ ।
उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उपाध्यक्ष समेत रहेका छन् ।




प्रतिक्रिया