राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण


काठमाण्डु – निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ ।

आयोगले बुधवार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको छ ।

आयोगको निर्णयअनुसार ७ वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदान स्थलमा २–२ वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

आयोगका अनुसार कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगर पुगेर मतदान गर्नुपर्नेछ । मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र जनकपुरमा रहनेछ ।

गण्डकीका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा जानु पर्ने भएको छ । लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढी मतदान केन्द्र तोकिएको छन् ।

निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ ।