काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान सुरक्षा अवस्था र सरकारको शैलीप्रति कडा आपत्ति जनाएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ तर शान्ति–सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो ।’ ५ हजार कैदीहरू अझै फरार रहेका र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा चुनावको सुनिश्चिततामा उनले प्रश्न उठाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न रोक लगाइएको विषयलाई कोइरालाले निर्वाचन भाँड्ने संकेतका रूपमा अर्थ्याएका छन् । भदौमा भएको जेनजी प्रदर्शनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई उपत्यका बाहिर जान रोक लगाएको छ ।
मुख्य विपक्षी दलको नेतालाई हिँडडुलमा प्रतिबन्ध लगाइनुले निर्वाचन हुने कुरामा शंका उब्जाएको उनको तर्क छ । प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने सरकारले ४५ जनालाई सहिद घोषणा गरिसकेको छ ।
निर्धारित मितिमा निर्वाचन हुन नसके देश थप संकटमा जाने कोइरालाको आकलन छ । ‘यदि चुनाव हुँदैन भने विघटित संसद् पुन:स्थापनाको माग अघि बढ्छ,’ उनले चेतावनी दिँदै भने, ‘अहिले नै संविधान केही हदसम्म लिकबाहिर (डिरेल) गइसकेको छ, चुनाव नभए देशको अवस्था के होला ?’
पार्टीको आन्तरिक विषयमा बोल्दै उनले निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन हुने र नयाँ कार्यसमितिले नै चुनावको टिकट बाँड्ने स्पष्ट पारे । तर चुनावकै मिति अनिश्चित देखिनुले कार्यकर्ता र आमजनतामा अन्योल बढेको उनको भनाइ थियो ।




प्रतिक्रिया