बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा तत्कालीन गोर्खा मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि लामिछाने रिहा भएका छन् ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार गरेको फैसला बमोजिम लामिछाने जिल्ला अदालत रूपन्देहीमा शुक्रबार साँझ आफैं उपस्थित भएर कागजी प्रक्रिया पूरा गरी रिहा भएका हुन् ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश गरेको थियो । बिहीवार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न शर्तसहित उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतको साउन २६ गतेको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर शर्तसहित थुनामुक्त गर्न आदेश गरिएको थियो । उच्च अदालतको आदेशको सक्कल मिसिल जिल्ला अदालतमा ल्याएर उच्चको आदेश बमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मञ्जुर भए सोको कागज गराई थुनामुक्त गरिएको जिल्ला अदातल रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।
अदालतको आदेशअनुसार लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ भने हाल भएको आदेशको २ करोड ७४ लाख समेत गरेर जम्मा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएपछि लामिछाने थुनामुक्त भएका छन् ।
मुद्दाको फैसला हुँदा सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने र रवि लामिछाने विदेश यात्रा गर्नुपर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने शर्त राखिएको छ ।
थुनामुक्त भएसँगै अब सभापति लामिछाने पार्टीमा फर्किने जनाइएको छ ।




प्रतिक्रिया