एमालेको भित्री तयारी निर्वाचनतिरै छ : संयोजक प्रचण्ड

एमालेको भित्री तयारी निर्वाचनतिरै छ : संयोजक प्रचण्ड


काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले बाहिर जेसुकै बोले पनि भित्री तयारी निर्वाचनतिरै रहेको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको दाबी गरे ।

संयोजक प्रचण्डले निर्वाचन मुलुकलाई निकास दिने सबैभन्दा सहज विकल्प भएकाले दोहोरो चरित्र नदेखाई निर्वाचनको प्रक्रियालाई अघि बढाउने काममा एकताबद्ध भएर अघि बढ्न पनि एमालेलाई आग्रह गरेका छन् ।

‘एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डबल स्टयान्डरको कुरा नगरौ, सिंगै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔं । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ,’ उनले भने ।

नेपाली जनता निर्वाचनको तयारी अवस्थामा अघि बढिरहेको र कांग्रेसले पनि निर्वाचनमा जाने संस्थागत निर्णय गरेकाले अब निर्वाचनलाई सम्पन्न गर्ने काम नै राष्ट्रको मुख्य काम भएको उनले बताए ।

उनले भने, ‘अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनको लागि तयार भइराखेको छ । राजनीतिक दलहरू कोही कोर्टमा गए पनि मैले बुझेसम्म नेपाली कांग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ ।’