काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती बुधबार अपराह्न स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान गरे ।
झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा लन्च गरेपछि उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ प्रस्थान गरे । सिलिगुडी पुगेपछि पूर्वराजा ज्ञानेन्द्र परिवारसहित त्यहाँस्थित होटल मेरिअटमा बसेको थिए ।
सिलिगुडी हुँदै उनीहरू भारतको राजधानी नयाँदिल्ली पनि जाने समाचार स्रोतको भनाइ छ । यद्यपि भ्रमणको उद्देश्य र अवधिबारे स्रोतले अनभिज्ञता जनाए ।
‘पूर्वराजा किन, कति दिनका लागि र को–को भ्रमणमा गएको भन्ने विवरण थाहा छैन’ ती स्रोतको भनाइ छ ।
पूर्वराजाको भारत भ्रमणलाई लिएर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, गणतन्त्रविरुद्ध बढ्दै गएको असन्तोष र राजसंस्थाप्रति केही समूहको सक्रियताका बीच उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
केही जानकारहरूका अनुसार यो भ्रमण निजी तथा पारिवारिक प्रयोजनका लागि हुन सक्ने सम्भावना प्रबल छ । पूर्वराजा विगतमा पनि स्वास्थ्य परीक्षण, धार्मिक कार्य तथा पारिवारिक भेटघाटका लागि भारत जाने गरेका थिए ।
अर्कोतर्फ, पछिल्लो समय नेपाल–भारत सम्बन्ध, क्षेत्रीय राजनीति तथा आन्तरिक राजनीतिक तरलताका कारण यो भ्रमण राजनीतिक सन्देश बोकेको हुन सक्ने अड्कल पनि गरिएको छ । पूर्वराजा भारतका धार्मिकस्थलहरूको दर्शन वा पुराना निकटवर्तीहरूसँग भेटघाटका लागि पनि उनी गएको हुन सक्ने सम्भावना कतिपयले औँल्याएका छन् ।
पूर्वराजाको सचिवालयले भ्रमणबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
पूर्वराजाको भारत यात्राले आगामी दिनमा कुनै सन्देश वा गतिविधि संकेत गर्छ कि गर्दैन भन्ने विषयमा राजनीतिक वृत्त र सर्वसाधारणको चासो बढ्दै गएको देखिन्छ ।
सिलिगुडीमा किनमेल
उनलाई भारत जाँदा काकडभिट्टा नाकासम्म सशस्त्र प्रहरीले स्कटिङ गरेको थियो । पूर्वराजा ज्ञानेन्द्र सिलिगुडीको एक व्यावसायिक भवनमा परिवारका साथ सपिङका लागि गएका थिए । उनी सामान्य सुरक्षा व्यवस्थाका बीच सार्वजनिक स्थानमा देखिएका थिए । यस क्रममा उनको सुरक्षामा भारतीय सुरक्षा निकायको पनि उपस्थिति रहेको बताइएको छ ।
पूर्वराजाले राष्ट्रिय स्वयंसेवक संघ (आरआरएस) का प्रमुखसँग सिलिगुडीको होटल मेरिअटमै भेटघाट गरेको पनि स्रोतको दाबी छ । उक्त भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, परिवर्तनशील शक्ति सन्तुलन र क्षेत्रीय घटनाक्रमबारे छलफल भएको हो ।
स्रोतले उनी भारत सरकारको सरकारी पाहुनाको हैसियतमा गएको पनि दाबी गरेको छ । भारत प्रवेश गरेपछि उनलाई पश्चिम बंगालका गभर्नरले सुरक्षा दिएका थिए ।




प्रतिक्रिया