पार्टी कार्यालयमा पुगेर रविले भने- ४० लाखले तपाईं एक्लै हुनुहुन्न भन्ने हौसला दिनुभयो

पार्टी कार्यालयमा पुगेर रविले भने- ४० लाखले तपाईं एक्लै हुनुहुन्न भन्ने हौसला दिनुभयो


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन् । आइतबार लामिछानेलाई कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।

शनिबार उनी ३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भए । रिहाइपछि उनी राजनीतिक गतिविधिमा सहभागी भएका हुन् ।

पार्टी कार्यालय पुगेका उनले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरे ।

‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’

यस्तै उनले ४० लाखले हस्ताक्षर गरेर आफू एक्लो नरहेको महसुस गराएको बताए।

‘मलाई जनताको ताकतमा विश्वास छ,’ लामिछानेले भने, ‘मैले विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर कुरा बुझ्न बाँकी छ। त्यसपछि म अरू धेरै राजनीतिक टिप्पणी गर्नेछु। यो लडाइँमा तपाईंहरूले जुन साथ र हौसला दिनुभयो, त्यसका लागि म आभारी छु। विशेषगरी हस्ताक्षर अभियानमार्फत ४० लाख जनाले ‘तपाईं एक्लै हुनुहुन्न’ भन्ने हौसला दिनुभयो।’

न्यायको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै उनले भने, ‘मैले न्यायको लडाइँ लड्न अझै बाँकी नै छ। तर मलाई विश्वास छ,सत्यले हारेको छैन।’