रवि–बालेन भेटवार्ता सकारात्मक, प्रधानमन्त्री बालेनलाई बनाउने गरी छलफल

रवि–बालेन भेटवार्ता सकारात्मक, प्रधानमन्त्री बालेनलाई बनाउने गरी छलफल


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको भेटवार्ता सकारात्मक भएको निकट नेताहरूले बताएका छन्। रास्वपाका पूर्व सांसद अशिम शाहको कमलपोखरीस्थित निवासमा भएको उक्त भेटमा मेयर शाहको रास्वपामा प्रवेश, पावर सेयरिङ तथा फागुन २१ गते हुने निर्वाचनमा सहभागिताबारे विस्तृत छलफल भएको छ।

भेटवार्तामा मेयर शाहसँगै सुनिल लम्साल तथा रास्वपाका उपसभापति डिपी अर्याल सहभागी थिए। स्रोतका अनुसार बैठकमा बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा आफूलाई अघि सार्नुपर्ने र फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट आफ्नै टिमको समन्वयमा हुनुपर्ने प्रस्ताव राखेका थिए।

त्यसका साथै दुवै नेताबीच शक्तिको बाँडफाँड र भावी राजनीतिक यात्राका विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा सहमति खोज्ने प्रयासका साथै दीर्घकालीन राजनीतिक सहकार्यबारे पनि संवाद भएको स्रोतको भनाइ छ। भेटवार्ता करिब तीन घण्टा एक्लाएक्लै चलेको थियो।

स्रोतका अनुसार बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा सभापति रवि लामिछाने पनि सकारात्मक देखिएका छन्। छलफलमा प्रारम्भिक चरणमा प्रधानमन्त्रीको उम्मेदवार बालेनलाई बनाएर अघि बढ्ने र पछि कार्यकाल बाँडफाँड गर्ने विकल्पबारे पनि कुरा भएको बताइएको छ। साथै, अन्य केन्द्रीय सदस्य तथा सांसद छनोटमा आपसी सहमतिमा अघि बढ्न सकिने प्रस्ताव बालेन पक्षबाट आएको जनाइएको छ।

वार्ता सकिएपछि राति करिब १ बजे दुवै नेता एउटै गाडीमा निस्किएका थिए। भेटका क्रममा सभापति लामिछानेले बालेन शाहलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न आग्रह गर्दै त्यसपछि पार्टीको मुख्य नेतृत्वमा ल्याउन आफूलाई कुनै समस्या नहुने प्रस्तावसमेत राखेको स्रोतले जनाएको छ।

यसअघि नै रास्वपाका नेताहरू स्वर्णिम वाग्ले र शिशिर खनालसँग बालेनका निकट सल्लाहकार कुमार वेनबीच यस विषयमा पटक–पटक छलफल भइसकेको पनि स्रोतले जनाएको छ।

आजको भेटवार्तामा मुख्य रूपमा एउटै शक्ति बनाएर अघि बढ्ने र पावर सेयरिङका विषयमा केन्द्रित रहेर गहन छलफल भएको रास्वपा स्रोतको दाबी छ।