काठमाण्डु – निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।
आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यतालिका अनुसार भोलि पुस १३ र पर्सि १४ गतेभित्र बन्दसूची पेश गर्नुपर्ने समय सीमा तोकिएको जानकारी दिएको हो ।
निर्वाचन कार्यक्रमअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका राजनीतिक दलहरूले दुवै दिन कार्यालय समयभित्र (अपराह्न ४ बजेसम्म) आयोग परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, नियमावली २०७४ र समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा १३ ले तोके बमोजिमका विधि, प्रक्रिया र आवश्यक कागजातका प्रमाणहरू रीतपूर्वक पुर्याएर मात्र सूची बुझाउन आग्रह गरेको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलहरूले आफ्नो बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुभन्दा अगाडि वा पेश गरिसकेपछि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यवस्था समेत रहेको उल्लेख गरिएको छ । आयोगले निर्वाचनको प्रयोजनका लागि निर्वाचन कार्यक्रम यसअघि नै २०८२ कात्तिक ३० गतेको नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ ।





प्रतिक्रिया