काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई राष्ट्रको भविष्य र लोकतन्त्रको स्थायित्वसँग जोड्दै यसलाई जसरी पनि सफल पार्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग आग्रह गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित ३ दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि वातावरण सकारात्मक बन्दै गएकोमा खुसी व्यक्त गरिन् ।
बैठकमा प्रधानमन्त्री कार्कीले आफू न्याय क्षेत्रबाट आएको र राष्ट्रपतिबाट प्राप्त निर्वाचन गराउने विशिष्ट कार्यादेश पूरा गर्न पूर्ण रूपमा लागिपरेको बताइन् । उनले निर्वाचनको तयारीलाई तीव्रता दिनकै लागि रक्षाबाहेक आफूसँग रहेका अन्य सबै मन्त्रालयको जिम्मेवारी मन्त्रीहरूलाई सुम्पिएर आफू निर्वाचन परिचालनमा केन्द्रित भएको जानकारी दिइन् ।
‘मैले यहाँहरूलाई बिन्ती गर्न खोजेको के हो भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ शीर्ष नेताहरूलाई आग्रह गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ र देशमा चुनावी वातावरण बनिरहेको छ, यो अत्यन्तै स्वागतयोग्य कुरा हो ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्नका लागि सरकारले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराएको दाबी गरिन् । उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च रहेको उल्लेख गर्दै प्रशासनिक र सुरक्षाका दृष्टिले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाइन् ।
प्रधानमन्त्रीले कुनै पनि अलमल नगरी राष्ट्रको भविष्य र दीगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचनमा होमिनु सबैको साझा जिम्मेवारी भएको बताइन् । बैठकमा सहभागी पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले निर्वाचनको महाअभियानमा सक्रिय सहभागिताका लागि विशेष अनुरोध गरेकी छन् ।




प्रतिक्रिया