रवि-बालेनसँग कुलमानले मागे प्रधानमन्त्री आलोपालो र चुनाव चिह्न चिम

रवि-बालेनसँग कुलमानले मागे प्रधानमन्त्री आलोपालो र चुनाव चिह्न चिम


काठमाण्डु – उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाण्डु महानगरका मेयर बालेन शाहसँग कार्यकारी पद र चुनाव चिन्ह माग गरेपछि सहमति जुट्न सकेको छैन ।

मन्त्री घिसिङसँग आइतबार मध्यरातिसम्म भएको छलफलमा पदीय जिम्मेवारी बाँडफाँडको विषयमा कुरा नमिलेपछि सहमति जुट्न नसकेको हो ।

त्रिपक्षीय छलफलमा सहभागि एक नेताका अनुसार मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी र रास्वपाको एकीकरणछि पार्टी भित्र रवि र वालेनपछिको वरियता माग गरेका हुन् । यस्तै प्रधानमन्त्री आलोपालो र केन्द्रीय समितिमा ३० प्रतिशत सहभागिता हुनुपर्ने शर्त घिसिङले राखेपछि सहमति जुट्न नसकेको ती नेताले बताए।

छलपलमा सहभागि नेताका अनुसार सोमबार निर्णायक छलफल हुनेछ । ‘सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै घिसिङसँग सहमतिको अन्तिम प्रयास गरिनेछ,’ ती नेताले भने ।

बालेनले घिसिङलाई जसरी पनि एकतामा ल्याउने प्रयासमा छन् । बालेन आफै आइतबार बिहान ७ बुँदे सहमति गरेर रास्वपा प्रवेश गरेका हुन् ।

सहमतिअनुसार उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । रवि र बालेनबीच आइतबार सहमति हुँदा घिसिङसहित त्रिपक्षीय सहमति गर्न प्रयास गरेका थिए । तर घिसिङसँगको छलफलमा प्रगति नभएपछि आइतबार रवि र बालेनबीच ७ बुँदे सम्झौता भएको हो ।

सुरुमा घिसिङले आफूलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने, पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न पनि चिम नै हुनुपर्ने प्रस्ताव राखेका थिए । तर रवि र बालेनबीच सहमति भएपछि उनी केही लचिलो भएपनि केही नयाँ शर्त तेर्साएका छन् ।

रास्वपाभित्र आगामी प्रधानमन्त्री बालेन र सभापति रवि भनेर सहमति भइसकेको र घिसिङलाई सम्मानका साथ उपसभापतिको जिम्मेवारी दिने रवि–बालेनको तयारी छ । तर उक्त प्रस्तावमा घिसिङले सहमति जनाएका छैनन् ।

पार्टीमा घिसिङलाई कुन पद दिने भन्ने विषयमा अझै कुरा मिल्न नसकेको नेताहरूको भनाइ छ । तर रवि–बालेनबीच सहमति भएपछि घिसिङले आइतबार पोखरामा सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।