काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता आशिफ शाहले पार्टीबाट निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।
गायिका त्रिशला गुरुङले उम्मेदवारी फिर्ता लिएपछि शाहले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएका छन्। शाहले आफू सक्रिय राजनीतिमा भन्दा पनि देश विकासको हुटहुटी भएको व्यक्तिको रूपमा चिनिन चाहेको बताएका छन्।
देश बनाउने अभियानमा आफू लागेको र सोही क्रममा साथीहरूको आग्रहमा समानुपातिक सूचीमा नाम समावेश भएको समेत उनले बताएका छन्।
‘आम जनताको चाहनाअनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्यांकन गर्ने साथीहरू यसका साक्षी छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई सांसद बन्नुपर्छ भन्दै सूचीमा नाम समावेश गर्नुभयो ।’
उनले प्रत्यक्ष निर्वाचनमा उठ्ने पनि जनाएका छन् ।आफू काठमाण्डु–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्णरूपमा तयार रहेको उनले बताएका छन् ।
यसअघि, कलाकार त्रिशला गुरुङले पनि उमेदवारी फिर्ताको घोषणा गरिसकेकी छन् । उनी पनि रास्वपाबाट समानुपातिक उमेदवार बनेकी थिइन् ।





प्रतिक्रिया