तेहरान- इरानले आफूविरुद्ध कुनै पनि आक्रमण भए तत्काल र यसअघिभन्दा सशक्त जवाफ दिने चेतावनी दिएको छ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सैन्य कमान्डरहरूलाई दिएको निर्देशनलाई ‘अन्तिम र बाध्यकारी’ निर्णयका रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘हामी कुनै पनि धम्कीको तत्काल र यसअघिभन्दा बढी सशक्त रूपमा जवाफ दिनेछौँ। जवाफ दिने क्रममा भूगोल वा लक्ष्यको कुनै सीमा रहनेछैन।’
उनले १२ दिने र ४० दिने युद्धमा पराजित भएकाहरूले नभई इरानले नै युद्धको अन्त्य कसरी गर्ने भन्ने निर्णय गर्ने दाबीसमेत गरेका छन्।
यसअघि शनिबार सर्वोच्च नेता खामेनीले अमेरिका र इजरायलबाट हुन सक्ने सम्भावित खतरालाई रोक्न आफ्ना सैन्य कमान्डरहरूलाई युद्धका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग वार्ता गर्न उनले वार्ताकारहरूलाई कतारको दोहासमेत पठाएका छन्।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का राजनीतिक मामिलासम्बन्धी उपप्रमुख ब्रिगेडियर जनरल यदोल्लाह जवानीले इरानी सेना शत्रुका जुनसुकै कदमको सामना गर्न तयार रहेको बताएका छन्।
अर्धसरकारी समाचार संस्था फार्ससँग कुरा गर्दै उनले अमेरिका वा इजरायलले जुनसुकै बेला आक्रमण गर्न सक्ने अनुमानका आधारमा इरानी सैन्य संयन्त्र तयारी अवस्थामा रहेको बताए।
उनले इरान कुनै पनि परिस्थितिमा आश्चर्यमा पर्ने अवस्था नरहेको भन्दै आवश्यकताअनुसार जवाफ दिने बताए। उनका अनुसार इरानको सैन्य क्षमता अब रक्षात्मक कारबाहीमा मात्र सीमित छैन। उसले पूर्वआक्रमण र आक्रामक सैन्य कारबाहीसमेत गर्न सक्ने क्षमता विकास गरेको छ।
जवानीले अमेरिकी युद्धपोतहरूलाई भारी र विनाशकारी क्षति पुर्याउन सक्ने इरानको क्षमता रहेको दाबी गरे। उनले हवाई आक्रमण वा सीमापार प्रवेशमार्फत इरानी क्षेत्रमा पस्ने प्रयास गर्ने शत्रु सेनाका लागि त्यस्तो क्षेत्र ‘मृत्युस्थल’ बन्ने चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया