इरानमाथि फेरि अमेरिकी आक्रमणको तयारी, नोभेम्बर ४ देखि हमला हुन सक्ने

इरानमाथि फेरि अमेरिकी आक्रमणको तयारी, नोभेम्बर ४ देखि हमला हुन सक्ने

ट्रम्प-नेतन्याहू फोनवार्ता, खाडी मुलुकलाई सतर्क रहन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इरानमाथि फेरि सैन्य आक्रमण गर्ने तयारीमा अमेरिका जुटेको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भएको टेलिफोन वार्तापछि मध्यपूर्वमा फेरि युद्धको जोखिम बढेको हो।

अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार वासिङ्टनले खाडी क्षेत्रका देशहरूलाई इरानमाथि हुन सक्ने नयाँ आक्रमणका लागि तयार रहन आग्रह गरेको छ। अमेरिकी समाचार च्यानल एमएस नाउका अनुसार नोभेम्बर ४ देखि इरानमाथि नयाँ सैन्य कारबाही सुरु हुन सक्ने सम्भावना छ।

अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुँदैछ। त्यसको भोलिपल्टदेखि आक्रमण हुन सक्ने रिपोर्ट सार्वजनिक भएपछि मध्यपूर्वमा थप सैन्य तनावको आशंका बढेको छ।

यसैबीच, ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमसँग सम्बन्धित एक-दुईवटा अखडा अझै ध्वस्त पार्न बाँकी रहेको बताएका छन्। तीमध्ये पिक्याक्स माउन्टेन पनि रहेको उनको भनाइ छ।

यसअघि शनिबार ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहूसँग टेलिफोन वार्ता गरेका थिए। वाल स्ट्रिट जर्नलले उक्त वार्ताको पुष्टि गरेको छ। यद्यपि, वार्तामा के विषयमा छलफल भयो भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन।

सैन्य तयारी तीव्र

अमेरिकी सञ्चारमाध्यमका अनुसार पछिल्ला केही सातायता अमेरिकाले पश्चिम एसियामा हवाई प्रतिरक्षा प्रणाली, गोला-बारुद र सैन्य उपकरणको तैनाथी बढाएको छ।

इरानले आक्रमण गर्न सक्ने सम्भावना रहेका सैन्य अखडाबाट अमेरिकी सैनिक तथा सैन्य सामग्री अन्यत्र सार्नसमेत थालिएको छ। अमेरिकी रक्षा अधिकारीहरूका अनुसार अमेरिकी सेनाको सेन्ट्रल कमान्ड र इजरायलले सम्भावित सैन्य कारबाहीका लागि तयारी गरिरहेका छन्।

इजरायली समाचार च्यानल कानका अनुसार गत साता अमेरिकाका १० वटा सैन्य मालवाहक विमान इजरायल पुगेका थिए। ती विमानमार्फत हवाई आक्रमणबाट बच्न आवश्यक प्रतिरक्षा उपकरण ल्याइएको बताइएको छ। ती उपकरण अमेरिकी र उसका सहयोगी मुलुकका सैन्य अखडाको सुरक्षाका लागि प्रयोग गरिनेछन्।

यसअघि करिब दुई साताअघि इजरायलका लडाकु विमानहरू इरानको सीमासम्म उडान भरेर फर्किएका थिए। एक्सियोसका अनुसार उक्त उडान सैन्य अभ्यासको एक भाग थियो।

यसअघि गत जुलाई १७ मा इरानले कतारस्थित अल उदेइद अमेरिकी सैन्य अखडामा आक्रमण गरेको थियो। उक्त अखडा मध्यपूर्वमा अमेरिकी सेन्ट्रल कमान्डको क्षेत्रीय हवाई मुख्यालयका रूपमा काम गर्छ।

मध्यावधिले आक्रमणको समय धकेलियो

अमेरिकी राष्ट्रपति ट्रम्प अहिले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको अन्तिम प्रचार अभियानमा व्यस्त छन्। निर्वाचनबाट अमेरिकी प्रतिनिधिसभाका सदस्यहरू निर्वाचित हुनेछन्।

इरानसँगको युद्ध र अमेरिकामा इन्धनको बढ्दो मूल्य रिपब्लिकन पार्टीका लागि चुनावी चुनौती बनेका छन्। निर्वाचनको मुखमा थप सैन्य द्वन्द्व चर्किँदा पार्टीलाई राजनीतिक क्षति पुग्न सक्ने आकलन गरिएको छ।

यसै कारण अमेरिकाले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीको समय पछाडि सारेको हुन सक्ने अमेरिकी सञ्चारमाध्यमका रिपोर्टमा उल्लेख छ। उता, इरानले पनि अमेरिकी निर्वाचनअघि वार्तालाई लम्ब्याउने रणनीति अपनाएको आकलन गरिएको छ।

रूबियो भन्छन् : ट्रम्प वार्ता चाहन्छन्

अमेरिकी विदेशमन्त्री मार्को रूबियोले राष्ट्रपति ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने निर्णय गरिनसकेको बताएका छन्।

शनिबार एटलान्टामा जी-२० सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै रूबियोले ट्रम्प अहिले वार्तामार्फत समस्या समाधान गर्न चाहेको तर आवश्यक परे सैन्य विकल्प पनि खुला रहेको बताएका हुन्।

उनले इरानमाथि आफ्ना माग पूरा गराउन जहाजहरूमा आक्रमण गर्ने तथा छिमेकी मुलुकका तेल र ग्यास पूर्वाधार ध्वस्त पार्ने धम्की दिएको आरोप लगाए।

इरानी चेतावनी : वार्ता गर्छौं, युद्ध पनि लड्छौँ

अमेरिकाबाट सम्भावित नयाँ आक्रमणको चर्चा चलिरहेका बेला इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ।

तेहरानबाट जारी वक्तव्यअनुसार इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सैन्य कमान्डरहरूलाई कुनै पनि नयाँ आक्रमणको तत्काल र शक्तिशाली जवाफ दिन तयार रहन निर्देशन दिएका छन्।

उनले जवाफी कारबाहीको भौगोलिक सीमा नहुने बताएका छन्। यसको अर्थ इरानले आवश्यक परे जुनसुकै क्षेत्रमा रहेका शत्रुका सैन्य अखडालाई निशाना बनाउन सक्ने चेतावनी दिएको हो।

इरानी सेनाप्रमुख जनरल अली अब्दोल्लाहीले पनि सम्भावित निशानाहरूको सूची विस्तार गरिएको बताएका छन्। अमेरिकाले पुनः आक्रमण गरे इरानले व्यापक जवाफी कारबाही गर्ने उनको चेतावनी छ।

वार्ताका लागि इरानका तीन सर्त

अमेरिकासँगको वार्तामा इरानले मुख्यतः तीनवटा माग अघि सारेको छ।

पहिलो, इरानले आफ्नो तेल बिक्रीमा लगाइएका प्रतिबन्ध हटाएर पहिलेको जस्तै अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न पाउनुपर्ने माग गरेको छ।

दोस्रो, इरानमाथि लगाइएका अमेरिकी आर्थिक प्रतिबन्ध हटाउनुपर्ने उसको माग छ। प्रतिबन्ध हटे अर्थतन्त्रमा राहत पुग्ने तेहरानको अपेक्षा छ।

तेस्रो, कतारमा रोकिएको आफ्नो करिब ६ अर्ब अमेरिकी डलर फिर्ता पाउनुपर्ने इरानको माग छ।

अमेरिका र इरानबीच वार्ताको सम्भावना कायमै रहे पनि दुवै पक्षको सैन्य तयारी र एकअर्काविरुद्धका चेतावनीले मध्यपूर्वमा पुनः ठूलो सैन्य द्वन्द्व चर्किन सक्ने जोखिम बढाएको छ।