उज्यालो नेपाललाई ब्युँत्याउने कुलमानको संकेत

उज्यालो नेपाललाई ब्युँत्याउने कुलमानको संकेत

काठमाण्डु–३ या रामेछापबाट चुनाव लड्ने तयारी


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको पार्टी एकीकरण सम्मानजनक अवस्थामा नपुगेको निष्कर्षमा उज्यालो नेपाल पार्टी पुगेको छ ।

दुई पार्टीबीच भएको एकता प्रक्रियामा तनाव उत्पन्न भएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँग भएको एकताका विषयमा असन्तुष्टि व्यक्त गर्दै शनिबार बेलुकासम्म टुङ्गो नलागे आफ्नै पार्टी ब्युँत्याउने संकेत गरेका छन् ।

शनिबार रामेछापमा एउटा कार्यक्रममा बोल्दै घिसिङले रास्वपासँग केही विषय टुङ्गिन बाँकी रहेको र आज–भोलिमै त्यसको निर्णय गरेर अघि बढ्ने बताए।

उनले भने, ‘उज्यालो नेपाल पार्टी दर्ता भएर अगाडि बढेको छ, त्यसमा मेरो पनि साथ र सदभाव छ । अहिलेको देशको आवश्यकता र जनताको माग अनुसार एकता गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटा समझदारी भएको छ।’

उनले रास्वपासँग सहमति नभए उज्यालो नेपाल पार्टीबाट नै अघि बढ्ने पनि बताए ।

रास्वपासँग पार्टी एकीकरण भएपनि उज्यालोका नेताहरूको व्यवस्थापन अहिलेसम्म भएको छैन । घिसिङलाई पार्टीको उपसभापति बनाउने निर्णय पनि कार्यान्वयनमा आएको छैन । जसबाट उनी असन्तुष्ट रहेको उनी निकट नेताहरू बताउँछन् ।

घिसिङले रास्वपामा आफ्नो र पार्टीको सम्मानजनक उपस्थितिको प्रत्याभूति खोजेका छन्। त्यस्तो प्रत्याभूति नपाएपछि अब उज्यालो नेपाललाई नै ब्युँताएर यसैबाट प्रत्यक्षमा चुनाव लड्ने मनसाय घिसिङले बनाएको दावीसमेत ती नेताको छ ।

घिसिङले रास्वपासँग केन्द्रीय समितिमा २६ सिट पाउनुपर्ने अडान राखेका छन् । रास्वपाले यसअघि १२ सिट दिने अनौपचारिक निर्णय गरेको थियो । त्यसलाई केही बढाउन तयार रहे पनि २६ सिट दिन नसकिने रास्वपा नेताहरू बताउँछन् ।

रास्वपा सभापति रवि लामिछानेसहितसँगको वार्ता सकारात्मक नभएको भन्दै घिसिङले शुक्रबार पार्टीका आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । बौद्धस्थित एक होटलमा भएको छलफल पछि केन्द्रीय समिति बैठक बोलाइएको छ।

उज्यालोका केही नेताहरूले एकताको ‘च्याप्टर’ बन्द गरेर पार्टीलाई सक्रिय बनाउँदै निर्वाचनमा भाग लिनुपर्ने सुझाव दिएका छन् ।

रामेछापको कार्यक्रममा घिसिङले आफू आगामी संसदीय निर्वाचनमा काठमाण्डु–३ बाट उम्मेदवार बन्ने संकेत पनि गरे ।

‘मेरो लागि रामेछाप प्रिय जिल्ला हो, तर अहिले म अन्य विकल्पहरू पनि हेरिरहेको छु,’ घिसिङले भने, ‘मैले रामेछापबाट उठ्दिन भनेको छैन, तर दुईवटा विकल्पमध्ये कुन चाहिँ उत्कृष्ट हुन्छ, जहाँबाट उठ्दा चुनावी अभियान र नतिजालाई प्रभावकारी बनाउन सकिन्छ, त्यहीँ निर्णय लिनेछु।’

आफ्नो सदभाव र सहयोगमा उज्यालो नेपाल पार्टी दर्ता भएको उल्लेख गर्दै घिसिङले अहिलेको राजनीतिक परिस्थिति र जनताको चाहना अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने समझदारी बनेको बताए।