रास्वपाबाट छुट्टिएर उज्यालो नेपालको अध्यक्ष बन्दै कुलमान, आजै पत्रकार सम्मेलन

रास्वपाबाट छुट्टिएर उज्यालो नेपालको अध्यक्ष बन्दै कुलमान, आजै पत्रकार सम्मेलन


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भंग गरेका पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् ।

शनिबार अपराह्न पार्टीको बैठक बसेर कुलमानलाई अध्यक्ष नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

कुलमानले रास्वपामा आधा कार्यकाल प्रधानमन्त्री, पार्टीमा उपसभापति र महामन्त्री, वैचारिक सिद्धान्तमा साम्यवाद समावेश गर्न खोजेपछि सहमति नजुटेको रास्वपा स्रोतले जनाएको छ ।

रास्वपाबाट अलग भएर कुलमानले अब उज्यालो नेपाल पार्टीकै अध्यक्ष बनेर आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा होमिने तयारी थालेका छन् । उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नामबाट दर्ता छ ।

उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट कुलमानलाई अध्यक्ष नियुक्त गरेलगत्तै उनले पार्टी अध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीगत राजनीतिमा लागेर पनि सरकारमा मन्त्री पद खाइरहेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।