प्रधानमन्त्री मागेको होइन, रास्वपाको साधारण सदस्य हुन्छु भन्दा पनि बस्न दिएनन् : कुलमान

प्रधानमन्त्री मागेको होइन, रास्वपाको साधारण सदस्य हुन्छु भन्दा पनि बस्न दिएनन् : कुलमान


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएर उज्यालो नेपाल पार्टीको अध्यक्ष भएका पूर्वऊर्जामन्त्री कुलमान घिसिङले एकताका १२ दिनसम्म धोका भएको गुनासो गरेका छन् ।

रास्वपाबाट अलग भएपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपाले १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएको र अन्तत: एकता भंग गरेको गुनासो गरे ।

एकताका क्रममा भएका धेरै अलिखित सहमतिहरूलाई कार्यान्वयन नगरी सहमति भंग गरेको उनले आरोप लगाए । ‘हामीले सहमतिको चरणमा साथीहरूको ठूलो डिमान्ड पनि राखेका थिएनन्,’ उनले भने, ‘मिडियामा पदको बार्गेनिङ गर्‍यो भन्ने कुरा सरासर गलत हो । म उपाध्यक्ष भए पनि वरियता क्रममा धेरै तल भए पनि सहेर गएको थिएँ । म साधारण रास्वपाको सदस्य भएर, यो विषय ठूलो पनि थिएन ।’

समावेशी र संघीयतासँग सम्बन्धित विषयमा सुरुमा सहमति भए पनि अहिले रास्वपा पछि हटेको उनले गुनासो गरे । ‘हामीले सबै त्यागेर अगाडि बढ्नुस् भनेर छाडेका थियौं । यो १२ दिनको लामो समयले उज्यालो नेपाललाई धेरै क्षति पुग्यो,’ उनले भने ।

उनले प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पनि पद नमागेको बरु साधारण सदस्य भएर बस्न तयार रहेको बताउँदा पनि रास्वपाले नमानेको उनको गुनासो छ । ‘मैले प्रधानमन्त्री र पार्टी अध्यक्ष मागेको थिइनँ, साधारण सदस्य भएर बस्छु भन्दा पनि उहाँहरूले मान्नुभएन,’ उनको गुनासो छ, ‘अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन । हामी नभए पनि अगाडि बढ्छौ भन्नुभएछ ।’

उनले उज्यालो नेपालले अब आफ्नै बाटो लिने बताए । उनले भने, ‘हामी अत्यन्तै लचक भएका थियौं । अब उज्यालो नेपालले आफ्नो बाटो आफैं लिन्छ ।’

शनिबार दिउँसोसम्म रास्वपा सभापति रवि लामिछाने र प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेका कुलमानले सहमति नजुटेपछि साँझपख उज्यालो नेपाल पार्टी ब्युतिएका छन् ।