कांग्रेस संस्थापन पक्ष भन्छ-विशेष महाधिवेशनको औचित्य छैन

कांग्रेस संस्थापन पक्ष भन्छ-विशेष महाधिवेशनको औचित्य छैन


काठमाण्डु – नेपाली कांग्रेस संस्थापनको पक्षले आगामी फागुन २१ गते हुने चुनावपछि पार्टीको महाधिवेशन गर्दा उचित हुने बताएको छ ।

एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्य सम्पन्न हुन नसकेको र अर्कोतिर आउँदो फागुन २१ गते चुनाव तोकिएकाले चुनावपछि पार्टीको महाधिवेशन गर्दा उचित हुने तर्क संस्थापन पक्षले गरेको छ ।

विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।

साथै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उक्त विषयमा स्पष्ट पार्दै १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरिसकेको जनाएको छ ।

यद्यपि उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह समेत गरेका छन् ।

तर महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।

गएको असोज २९ गते कांग्रेसका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।

त्यस्तै गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनपछिको राजनीतिक पृष्ठभूमिका विषयमा कांग्रेसमा समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो ।