पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी

पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी


काठमाण्डु – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन् ।

उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर बिताएको भन्दै आलोचना गरे ।

आईतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।

उनले भने, ‘अब परिवर्तन र नयाँ सोचको आवश्यक छ । पदमाथि पद बाँडेर, ठूला घर बनाउने अवसर दिएर, गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दैन रहेछ । यो हाम्रो ३४ वर्षको उदाहरण हो । व्यक्ति विचारले चल्छ, अवसरले चल्दैन । सही मानिसमा अवसर गए मुलुक बन्छ । असल मान्छे छैन भने जति अवसर दिएपनि मुलुक बन्दैन ।’

उनले आफ्नो वरिपरि आफ्नो कार्यकर्तालाई शासन सत्ता दिएर मुलुक बन्दैन रहेछ भन्ने महसूस आज सबैलाई भएको धारणा राखे ।

नेता भण्डारीले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताउँदै देश अप्ठ्यारो अवस्थामा रहेको बेला आगामी निर्वाचनबाट एक ढिक्का भएर जानुपर्ने बताएका छन् ।