कांग्रेस विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर (विज्ञप्तिसहित)

कांग्रेस विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधिको हस्ताक्षर (विज्ञप्तिसहित)


काठमाण्डु – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ मा २ हजार ६६२ प्रतिनिधिले हस्ताक्षर गरेको आधिकारिक जानकारी सार्वजनिक गरिएको छ ।

दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट युवराज पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार ४ हजार ७४३ मध्ये २ हजार ६६२ प्रतिनिधिले उपस्थिति जनाएका छन् ।

आईतबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा चलिरहेको महाधिवेशनको पहिलो दिन प्रतिनिधि, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।

महाधिवेशनको पहिलो दिन आईतबार साँझसम्म देशभरका विभिन्न प्रदेश र भ्रातृ संस्थाहरूबाट गरी २ हजार ६६२ जना प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराएका छन् । यो संख्या कुल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिनिधिहरूको दर्ता विवरण अनुसार कोशीबाट ४२५, मधेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८, भ्रातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ गरी जम्मा २ हजार ६६२ प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनको औपचारिक उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बेलुन उडाएर गरेका थिए । उद्घाटन सत्रअघि काठमाण्डुका विभिन्न ६ स्थानबाट शक्ति प्रदर्शनका रूपमा जुलुस निकालिएको थियो ।

बाँकी प्रतिनिधिहरूको दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुन: सुरु हुनेछ । महाधिवेशनको बन्द सत्र सोमबार बिहान १० बजेदेखि भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ । महाधिवेशनले पार्टीको नीतिगत पुनरावलोकन, संरचनागत सुधार र नेतृत्वको कार्यशैलीका विषयमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ ।