काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको विषेश महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार सुरु हुँदै छ ।
काठमाडौंको भृकुटीमण्डपमा आएतबार विषेश महाधिवेशनको उद्घाटन भएको थियो ।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटिमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ। बन्दसत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि पारित गरिने छ ।
बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै ९ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने कार्यसूची छ।
चार विषयहरूमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति छलफलपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइनेछ ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको भनाइ छ ।
यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम सोमबार बिहान ११ बजेसम्म पनि जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु सोमबार बिहान मात्रै आइपुगेकोले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।




प्रतिक्रिया