काठमाण्डु – नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने र १५औं महाधिवेशन नभएसम्म नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेस भएको छ।
बन्दसत्रले पारित गरेको कार्यविधिमा कार्यकाल सकिएको मौजुदा कार्यसमिति भंग गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मको लागि नयाँ कार्यसमिति निर्वाचनको प्रस्ताव पेश भएको हो । जसलाई विशेष महाधिवशेनको हलले ध्वनीमतले पास गरेको छ ।
बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ ।
प्रस्तावना भनिएको छ, ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनले आफ्नो कामकारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि कार्यविधि बनाउन वाञ्छनीय भएकोले, नेपाली कांग्रेस विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकार सम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ बनाइ लागू गरिएको छ।’
विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ । जसले पुस २७ र २८ गतेको महाधिवेशन वैधानिक रहेको भनेर अनुमोदन गर्न सक्नेछ ।
कार्यविधिमा निर्वाचन सम्बन्धी व्यवस्था समेत उल्लेख छ । जसमा विधानको धारा १७ को उपधारा १ अनुसार नियमित महाधविेशन सम्पन्न नहुँदासम्मका लागि विधानको धारा १६ को १ बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकार भित्र रही महाधिवेशन प्रतिनिधिहरुले विधानको धारा २१ बमोजिम केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।




प्रतिक्रिया