काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनले विशेष महाधिवेशन सञ्चालन कार्यविधि २०८२ पारित गर्दै केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गर्ने लगायतका व्यवस्था गरेपछि नयाँ नेतृत्व चयन गर्नेतर्फ उन्मुख बनेको छ।
विशेष महाधिवेशनको बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने र १५औं महाधिवेशन नभएसम्म नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पेस भएको छ।
कार्यविधिमा उल्लेख भएअनुसार बन्दसत्रमा महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति भंग गरी अर्को नियमित महाधिवेशन नहुन्जेलसम्मका लागि नयाँ कार्यसमिति चयनको प्रस्ताव गर्न सक्नेछन्। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल पूरा भइसकेकाले तत्काल नेतृत्व परिवर्तन गरी फागुन २१ को निर्वाचनमा जानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको भनाइ छ।
बन्दसत्रले पारित गरेको कार्यविधिमा कार्यकाल सकिएको मौजुदा कार्यसमिति भंग गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मको लागि नयाँ कार्यसमिति निर्वाचनको प्रस्ताव पेश भएको हो । जसलाई विशेष महाधिवशेनको हलले ध्वनीमतले पास गरेको छ ।
बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ ।
बन्दसत्र जारी रहँदा पार्टीमा नेताहरूबीच संवाद र सहमतिको प्रयास नभए महाधिवेशन नयाँ कार्यसमिति चयनको बाटोमा अघि बढ्ने एक नेताले बताए ।
कांग्रेस प्रवक्ता प्रकाशसरण महतले अब संवाद र सहमतिको बाटो कमजोर बन्दै गएको टिप्प्णी गरेका छन्। उनले अवैधानिक रुपमा बोलाइएको विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएका केन्द्रीय समिति भंग गर्ने, अर्को निर्वाचन गर्ने जस्ता प्रस्तावले पार्टीमा एकता, संवाद र सहमतिको बाटोलाई कमजोर बनाएको बताए ।
विधानअनुसार बोलाइएको विशेष महाधिवेशनको ५१ प्रतिशत प्रतिनिधिले नीतिसँगै नेतृत्व पनि चयन गर्न सक्ने व्यवस्था छ ।
विशेष महाधिवेशनले नेतृत्व चयन गरेमा त्यसले मान्यता पाउने कानुनविद्हरू बताउँछन् ।
विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ । जसले पुस २७ र २८ गतेको महाधिवेशन वैधानिक रहेको भनेर अनुमोदन गर्न सक्नेछ ।
कार्यविधिमा निर्वाचन सम्बन्धी व्यवस्था समेत उल्लेख छ । जसमा विधानको धारा १७ को उपधारा १ अनुसार नियमित महाधविेशन सम्पन्न नहुँदासम्मका लागि विधानको धारा १६ को १ बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकार भित्र रही महाधिवेशन प्रतिनिधिहरुले विधानको धारा २१ बमोजिम केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ ।




प्रतिक्रिया